भारोत्तोलनमा कीर्तिमान



(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Jiang Wenyao)

हाङझाउ । हाङझाउ एसियाड अन्तर्गत बिहिबार भारोत्तोलनमा नेपाली खेलाडीले दुर्लभ किर्तिमान बनाउँदा तीन नेपाली कराते खेलाडी भने पराजित भएका छन् ।

विशालसिंह विष्टले दुर्लभ कीर्तिमान स्थापित गरेका हुन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित पहिलोपटक ३ सय एक केजी वजन उठाउने नेपाली भारोतोलक बन्दै दुर्लभ कीर्तिमान राखे । यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौलसमूहमा जम्मामा ३ सय केजीसम्मको भार वहन गरेका थिएनन् ।

विशालले स्न्याचमा १ सय ३३ केजी, क्लिन एन्ड जर्कमा १ सय ६८ केजी र कुलमा ३ सय १ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । यसअघि उनको स्न्याचमा १ सय २६ केजी, क्लिन एन्ड जर्कमा १ सय ६५ केजी र कुलमा २ सय ९१ केजीको राष्ट्रिय कीर्तिमान थियो । उनले उक्त कीर्तिमान केहि साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।

त्यसैगरी करातेको पहिलो दिन नेपालका तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए । लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके । एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् ।

त्यस्तै, एथलेटिक्सको म्याराथनमा नेपालबाट समान एक–एक पुरुष र महिला खेलाडीले बिहीबार प्रतिस्पर्धा गरेका थिए । पुरुषमा राजन रोकाया समग्रमा १४ औं स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न २ घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे । १८ खेलाडी सहभागी भएकोमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जि हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते ।

महिलामा पुष्पाले निर्धारित दूरी ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६ औं स्थानमा दौड टुंगाइन् । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् । बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा २ घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् । म्याराथनको समापनसंगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ ।

कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित भइन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवाङ्गीलाई ८–० ले पराजित गरिन् ।

त्यसैगरी क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भए । दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् । गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए । दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए ।

प्रतिक्रिया दिनुहोस्