न्युजिल्यान्डले पाकिस्तानलाई हरायो



नयाँ दिल्ली, (एजेन्सी) । यही अक्टोबरदेखि शुरु हुने विश्वकप क्रिकेटअन्तर्गत वार्म अप खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको छ । ओपनर रचिन रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले जित हासिल गरेको हो । ३ सय ४६ रनको विशाल विजयी लक्ष्ये न्युजिल्यान्डले ४३.४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो ।

न्युजिल्यान्डको जितमा युवा खेलाडी रविन्द्रले ७२ बलमा १६ चौका र १ छक्कासहित सर्वाधिक ९७ रनको योगदान दिए । अघा सलमानको बलमा बोल्ड भएपछि उनी शतकबाट चुकेका थिए ।

दोस्रो विकेटका लागि केन विलियमसन र रविन्द्रले १ सय ७९ रनको सानदार शतकीय साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । विलियमसन ५४ रनमा र डर्याल मिचेल पनि ५७ बलमा ५९ रनमा रिटायर्ड भए । युवा ब्याटर मार्क च्यापम्यान ६५ रन र जेम्श निसमले ३३ रन बनाएर जित दिलाएका थिए ।

पाकिस्तानका स्पिनर उस्मान मिरले १० ओभरमा ६८ रन खर्चेर २ विकेट लिए । हसन अली, अघा सलमान र मोहम्मद वासिमले समान एक विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेल स्टेडियम हैदराबादमा पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४५ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले सर्वाधिक १ सय ३ रनको शतकीय इनिङ खेले । कप्तान बाबर आजम ८० रनमा आउट भएका थिए । यस्तै साउद सकिल ७५ रनमा आउट भए ।

न्युजिल्यान्डका मिचेल सान्टनारले ८ ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए । लोकी फर्गुसन, म्याट हेनरी र जेम्श निसमको नाममा समान एक विकेट रह्यो । पाकिस्तानले दोस्रो वार्मअप खेल मंगलबार अष्ट्रेलियासँग खेल्नेछ । न्युजिल्यान्डले दोस्रो वार्मअप खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

बंगलादेशको जित

बंगलादेशले विश्वकपअन्तर्गत वार्मअप खेलमा श्रीलंकामाथि ७ विकेटको जित निकाल्यो । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशको जितमा युवा ओपनर तानजिद हसनले सर्वाधिक ८४ रनको योगदान दिए । अर्का ओपनर लिटन दास ६१ रनमा आउट भए । पहिलो विकेटका लागि लिटन र हसनले २०.४ ओभरमा १ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए ।

अन्यमा मेहेदी हसन मिराज ६७ रनमा र विकेटकिपर मुश्फिकुर रहिम ३५ रनमा नटआउट रहे । श्रीलंकाका दुशान हेमान्था, दुनिथ वेलालागे र लाहिरु कुमाराले समान एक विकेट लिए ।त्यसअघि गुवाहाटीमा पहिला ब्याटिङ रोजेको श्रीलंका ४९.१ ओभरमा २ सय ६३ रनमा अल आउट भएको थियो ।

श्रीलंकाका ओपनर पाथुम निसांकाले सर्वाधिक ६८ रन बनाए । कुशल परेरा ३४ रन बनाए भने धनन्जय डि सिल्भा ५५ रनमा आउट भए ।

पहिलो विकेटका लागि कुशल परेरा र पाथुमले १४.४ ओभरमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि राम्रो साझेदारी हुन सकेन । बंगलादेशका मेहेदी हसनले सर्वाधिक ३ विकेट लिए । तानजिम हसन सकिब, शोरिफुल इस्लाम, नासुम अहमद र मेहेदी हसन मिराजले समान एक विकेट लिए ।

श्रीलंकाले दोस्रो वार्मअप खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ । अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको वार्मअप खेल भने वर्षाको कारण रद्द भएको थियो । बंगलादेशले दोस्रो वार्मअप खेल सोमबार इंग्ल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्