साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा



काठमाडौँ।

बिहीबारदेखि घरेलु मैदानमा हुने साफ यू–१९ च्याम्पियनसिप २०२३ को तयारी पूरा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउनेक्रम जारी रहेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज (मंगलबार) आइपुग्ने तालिका रहेको छ । यस्तै, पाकिस्तानको टोली पनि आजै आइपुग्ने जनाइएको छ ।

च्याम्पियनसिपमा सहभागी टोलीले नेपाली सेनाको भद्रकालीस्थित खेल मैदान र च्यासल मैदानमा प्रशिक्षण गर्नेछन्।

सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।

यस्तै, प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस प्रतियोगिताका लागि दुईथरी टिकटको व्यवस्था गरिएको छ । जसमा साधारण पारापिटतर्फ १०० र भिआइपी पारापिटतर्फ ३०० कायम गरिएको छ । टिकट खल्तीको एपबाट वा रंगशालामा भौतिकरूपमा पनि किन्न पाइने आयोजकले जनाएको छ ।

समूह चरणको पहिलो खेलमा नेपालले बिहीबार पाकिस्तानसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। सोही दिनको पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन्। खेल दिउँसो साढे १ बजे हुनेछ।

समूह चरणको अन्तिम खेलमा नेपालले मालदिभ्ससँग सोमबार दिउँसो साढे १ बजे भिड्नेछ। साफमा नेपाल मालदिभ्स र पाकिस्तान रहेको समूह ए मा छ। समुह बी मा भारत, भुटान र बंगलादेश छन्।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्