आज प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्ताव पेस हुने



काठमाडौं । आज (बिहीबार) संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

उक्त सभाको बैठक दिउँसो ३ बजेका लागि आह्वान गरिएको संघीय संसद्को सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएकोले सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेस गर्ने बैठकको कार्यसूची रहेको छ ।

उनको हृदयाघातका कारण मंगलबार राति २ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।

नेम्वाङको आज दाहसंस्कार गरिने भएको छ । एमाले पार्टी कार्यालय च्यासलबाट हिजो (बुधबार) पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखेर मुन्धुम परम्पराअनुसार अन्तिम धार्मिक संस्कार सकाएपछि आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने एमालेले जनाएको छ ।

उनी संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य थिए । गत आमनिर्वाचनमा नेम्वाङ नेकपा (एमाले) इलाम–२ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्