एन्फाको विशेष साधारण सभा स्थगित



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा स्थगित भएको छ । आइतबार ए, बी र सी डिभिजनका ३२ क्लबले बहिष्कार गरेपछि बैठक स्थगन भएको हो । अनलाइनमार्फत गर्ने भनिएको विशेष साधारण सभामा ३९ जनाको मात्र सहभागिता रहेको थियो ।

गणपुरक संख्या अपुगको कारणले एन्फाले साधारण सभा स्थगित गरेको एन्फाले जनायो । एन्फाले सोमबारका लागि पुन अनलाइनमार्फत विशेष साधारण सभा बस्ने जानकारी दिएको छ । सोमबार बस्ने विशेष साधारण सभाका लागि भने जति उपस्थित हुन्छन् त्यहि नै गणपुरक मानिने वैद्यानिक व्यवस्था रहेको पनि एन्फाले स्पष्ट पारेको छ ।

लेखा परिक्षक नियुक्तीका लागि एन्फाले विशेष साधारण सभा गर्न लागेको हो । ३२ क्लबले भने भौतिक उपस्थितिमै साधारण सभा गरिनुपर्ने माग राखेका थिए । एन्फा र ३२ क्लबका प्रतिनिधिबीच भएको छलफल विना निष्कर्ष टुंगिएको थियो । एन्फाको साधारण सभामा १ सय ५ को सदस्य संस्था रहेको र त्यसमध्ये ८६ जनासँग मताधिकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्