चुम्बनको घटना आपराधिक अदालतले अनुसन्धान गर्ने



मेड्रिड, (एजेन्सी) । स्पेनको शीर्ष आपराधिक अदालतले स्पेनको फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसमाथि प्रारम्भिक अनुसन्धान गर्ने भएको छ । लुइसले महिला खेलाडी जेनी हर्मोसोको ओँठमै चुम्बन गरेपछि यसमाथि अनुसन्धान हुन लागेको त्यहाँको मिडियाले जनायो ।

अधिवक्ताहरुले घटनालाई यौन दुव्र्यवहार हो कि भनेर खोजी गरिरहेका छन् । उनीहरुले यो घटनामा ३३ वर्षीया खेलाडी हर्मोसोको सहमति नभएको कुरा आएपछि अनुसन्धान गर्नुपरेको बताए । यो घटना घटेपछि हर्मोसोले चुम्बनमा सहमति नभएको बताएकी थिइन् । यो बयानले हर्मोसोले मुद्दा दायर गर्न सक्ने वातावरण सिर्जना भएको पनि उनीहरुले बताए ।

स्पेनको महिला फुटबल टोलीले विश्वकप जितेपछिको घटनालाई लिएर ४६ वर्षीय लुइसको चौतर्फी आलोचना भइरहेको छ । टोलीले विश्वकप जितेको दुई साता हुन लाग्दा पनि यो घटना सेलाएको छैन । लुइसलाई शनिबार विश्वको सर्वोच्च फुटबल संस्था फिफाले निलम्बित गरेको थियो । अघिल्लो दिन उनले महासघबाट राजीनामा नदिने भनेपछि फिफाले भोलिपल्ट नै निर्णय लिएको थियो ।

लुइसकी आमा एन्जेलेस बेयारले आफुलाई डिभिना पास्टोरा चर्चमा बन्द गरेकी छन् । उनी उनका छोराविरुद्ध अमानवीयतरिकाले लागेको भन्दै अनसन बसिरहेकी हुन् । उनले स्पेनी समाचार संस्था ईएफईलाई बताइन्—हडताल दिन रात अनिश्चितकालको लागि जारी हुनेछ ।

उनीहरुले मेरा छोरासँग गरेको अमानवीय व्यवहार छ त्यो अस्विकार्य छ । मिडियाहरुले पनि हामीलाई बदनाम गर्न रोकेका छैनन् । हामीले घर छाड्नु परेको छ । उनीहरुलाई हामीलाई एक्लै छाडिदिनु र जेनीले साँचो बोलुन्, यो ठिक भएन ।

प्रतिक्रिया दिनुहोस्