प्रधानमन्त्रीले भने : ठूला तानिने भएपछि अनुसन्धानमै हस्तक्षेप गर्ने काम भयो



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बरामद भएकाे साढे ६० केजी सुन तस्करी प्रकरणलगायतकाे अनुसन्धानका क्रममा ठूला तानिने भएपछि अनुसन्धानमै हस्तक्षेप गर्ने काम भएकाे बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा एमालेका मागहरुबारे सुनिसकेपछि उनले यस्तो बताएका हुन्।

सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सुन तस्करी प्रकरणमा राजनीति र उच्च तहका नेताहरु पनि संलग्न भएको तथ्यहरु आएकाले उच्चस्तरीय समिति चाहिने अडान लिएका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले भने,  ‘यस्तो अवस्थामा पनि ती व्यक्तिलाई छानबिनका लागि सीआईबीले बोलाएन’, उनले बैठकमा भने, ‘ललिता निवासको सरकारी जग्गा र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सानालाई मात्रै समातियो। ठूला तानिने भएपछि अनुसन्धानमै हस्तक्षेप गर्ने काम भयो।’

प्रतिक्रिया दिनुहोस्