प्रधानसेनापति र चिनियाँ सैनिक अधिकारीबीच भेट



काठमाडौं  । 

प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका तिब्बत मिलिट्री कमान्डर मेजर जनरल युइ एन देबीच शिष्टाचार भेट भएको छ।

सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच तालिम, सैनिक सहायतालगायत द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देनालयले जनाएको छ।

कोभिडका कारण नेपाल र चिनियाँ जनमुक्ति सेनाबीच हुँदै आएको सैन्य अभ्याससमेत रोकिएको छ। उक्त सैनिक अभ्यास सुचारु गर्नेबारे समेत उनीहरूबीच छलफल भएको स्रोतले बताएको छ।

आठ सदस्सीय टोलीको नेतृत्व गर्दै मेजर जनरल युइ एन दे बुधबार काठमाडौं आइपुगेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाली सेनाका उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए।

चिनियाँ सैनिक अधिकारीहरूले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयसहित पर्यटकीय क्षेत्रको अवलोकन गर्ने नेपाली सेनाले जनाएको छ। यस किसिमको भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ,सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्