कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन



काठमाडाैं । 

जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकास बलामी रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

गए राति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए ।

उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्याइएको र सोही अस्पतालमा उनीहरुको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताए ।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसी छानबिन समिति गठन गरेको हो । घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्