क्यापिटल म्याक्स सेक्युरिटिजको औपचारिक शुरूवात



काठमाडौं । शेयर ब्रोकर कम्पनी क्यापिटल म्याक्स सेक्युरिटिजको औपचारिक शुरूवात भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उक्त ब्रोकर कम्पनीको उद्घाट गर्दै औपचारिक शुरूवात गर्नुभयो ।

ब्रोकर नम्बर ६२ उक्त कम्पनीको उद्घाटन गर्दै बोर्डका अध्यक्ष हमालले नयाँ ब्रोकरलाई थप गरी पुराना ब्रोकरको सिन्डिकेटलाई खारेज गर्न सफल भएको बताउनुभयो । उहाँले अझै पुँजीबजार रिफर्मको लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले आगामीे मौद्रिक नीतिमा राष्ट्र बैंकबाट पुँजीबजारको हितअनुसार नीति आउने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले ४३ वटा आश्य पत्र आएका नयाँ ब्रोकर कम्पनीहरूमध्ये २९ वटा कम्पनीले लाइसेन्स पाइसकेको र बाँकी रहेका १४ वटा कम्पनीले पूर्वाधार तयार गरेको जानकारी आएपछि त्यसको अनुगमन गरी लाइसेन्स दिने जानकारी गराउनुभयो ।

त्यस्तै सीडीएसी एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले आफूहरूले सीमित स्रोतका बाबजुद लगानीकर्तालाई गुणस्तरीय सेवा दिइरहेको एवं सम्बन्धित नियमन निकायहरुसँग सहकार्य गरी आफ्नो सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन अगाडि बढेको जानकारी गराउनुभयो ।

उहाँले लामो समयदेखि लगानीकर्ताहरुले कारोबारका क्रममा भोग्दै आएको समस्या तथा गुनासोका बारेमा समेत अब बजारमा आउन लागेका नयाँ ब्रोकरहरुले राम्रो सेवा सुविधा दिन सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले क्यापिटल म्याक्स सेक्युरिटिजलाई बधाई दिँदै लामो समयदेखि लगानीकर्ताले राख्दै आएको बैंकलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने माग पूरा गर्नका लागि बोर्डका अध्यक्ष रमेश कुमार हमाल सफल हुनुभएको बताउनुभयो । उहाँले आगामी दिनमा ब्रोकर कमिसन पनि घटाउनुपर्ने धारण राख्नुभयो ।

त्यसैगरी नेपाल स्कट एक्सचेन्ज (नेप्से)का पूर्वकार्यकारी निर्देशक चन्द्रसिंह साउदले आफ्नो कार्यकालमा नेप्स–३० ल्याउनको लागि कार्यविधि बनाएको बताउँदै पुँजीबजारको विकास तथा बिस्तारको लागि ब्रोकर लाइसन्स वितरणले ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले बजारलाई अझ चलायमान बनाउनको लागि अर्को स्टक एक्सचेन्ज अपरिहार्य रहेको समेत बताउनुभयो ।

यस्तै यस क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले नयाँ ब्रोकरहरुले लगानीकर्ता सुविधा दिने उल्लेख गर्दै लगानीकर्ताले झेल्दै आएको समयमै भुक्तानी नपाउने समस्यालाई क्यापिटल म्याक्सले तत्कालै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो २० वर्षदेखिको ज्ञातलाई प्रयोग गरी क्यापिटल म्याक्सलाई प्रविधिमैत्री बनाउँदै हरेक लगानीकर्तालाई आफ्नै वेवसाइटमार्पmत् सम्पूर्ण प्राविधिक विश्लेषण एवं आधारभूत विश्लेषणको सफ्टवेयर समेत निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नयाँ सुविधाअन्तर्गत लगानीकर्तालाई चौबिसै घण्टा अफलाइन अर्डर राख्न मिल्ने गरी व्यवस्थापन गर्ने र लगभग ७०० वर्गफिटको डिस्प्ले कक्षमार्फत् दुईवटा ठूला स्क्रिन र लगानीकर्तालाई भेला गराई हरेक क्यापिटल म्याक्सका लगानीकर्तालाई सुझबुझ गरी स्मार्ट तरिकाले लगानी गर्ने वातावरण निर्माण गर्नेमा जोड दिनुभयो । उहाँले लगानीकर्ताको विश्वास जित्न कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

यसैबीच नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रालि, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्यूरिटिज, सानिमा सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको छ ।

त्यस्तै स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् । यसअघि बोर्डले पहिलो र दोस्रो चरणगरी १८ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । यसँगै नयाँ ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या २९ पुगेको छ । पहिलो चरणमा लाइसेन्स पाउँने ७ वटा ब्रोकर कम्पनीहरुले कारोबार शुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्