भारतको ‘पीएम मास्टर प्लान’ प्रस्तुत



काठमाडौं । भारतको प्रधानमन्त्री गति शक्ति राष्ट्रिय गुरु योजना (पिएम गतिशक्ति मास्टर प्लान) सम्बन्धी राष्ट्रिय योजना आयोगलाई ‘बिफ्रिङ’ गरिएको छ । भारतबाट आएको प्रतिनिधिमण्डलले बुधबार राष्ट्रिय योजना आयोगलाई ब्रिफिङ गरेको हो ।

उक्त मास्टर प्लानबारे बुझाउन भारतीय वाणिज्य मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन विभागका विशेष सचिव सुमिता डाउरा नेतृत्वमा काठमाडौंस्थित भारतीय दूतावासका प्रथमसचिव करुण वन्सल साथै भारतीय विदेश मन्त्रालय र पिएम गतिशक्ति मास्टर प्लानको प्राविधिक समूह लगायतको टोली सहभागी थियो ।

भारतीय टोलीले समृद्धिको यात्रामा चाडो पुग्नका लागि आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुसार पिएम गतिशक्ति मास्टर प्लान बनाएर काम गरेको भन्दै प्रविधिको उच्चतम प्रयोग गरी छिमेकी राष्ट्रले पनि यस्तो प्लान बनाएर काम गर्न सक्ने बताएका थिए ।

भारत भौतिक पूर्वाधार विकासका लागि रुपान्तरणकारी दृष्टिकोणको रुपमा रहेको पिएम गतिशक्ति मास्टर प्लानका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल समेत भएको थियो । पिएम गतिशक्ति मास्टर प्लान सन् २०२१ बाट भारतमा सुरुवात गरिएको कार्यक्रम हो । यसको उद्देश्य एकीकृत तथा मल्टिमोडल पारवाहन प्रणालीमार्फत पारवाहन पूर्वाधारको दक्षतामा सुधार गर्ने रहेको छ ।

भारतले समन्वयात्मक तथा एकीकृत योजना तर्जुमा, विकास र कार्यान्वयनको लागि एक संस्थागत संरचना स्थापना गरेको छ । यसको उद्देश्य पूर्वाधार निर्माणमा तीव्रता ल्याउनु, लागतमा कमी ल्याउनु, रोजगारी सिर्जना गर्नु, आगामी ४ वर्षमा भौतिक पूर्वाधार आयोजनाहरुको एकीकृत योजना र कार्यान्वयनको सुनिश्चितता गर्नु लगायत रहेको छ ।

आवश्यक प्रविधि तथा सफ्टवेयर सहयोग प्रदान गर्न सकिने, मल्टिमोडल कनेक्टीभिटी को लागि एकीकृत योजना तर्जुमा गर्न आवश्यक ‘जिआईएस इनेवल प्लाटफर्म’ बनाएर होस्ट गर्न सकिने । प्रशिक्षण तथा क्षमता विकासका कार्यक्रम सचालन गर्न सकिने लगायतका विषयमा समेत छलफल भएको थियो ।

भारतीय टोलीको प्रस्तुति पछि आयोगका कार्यबाहक उपाध्यक्ष डा. रामकुमार फुयाँलले प्रस्तुतिका लागि धन्यबाद दिँदै आवश्यक विषयहरुमा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । छलफलमा आयोगका सदस्य डा. जयकान्त राउत, निमित्त सदस्य सचिव सुमन दाहाल, आयोगका सहसचिव डा. किरण रुपाखेती, परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाका सहसचिव रामप्रसाद सुवेदी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्