अब सडक खन्न नपाइने



काठमाडौं । अब तीन महिना (असार, साउन र भदौ)सम्म सडक खन्न नपाइने भएको छ । यस अवधिमा मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्न नपाइने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालले एक सूचना जारी गर्दै सडक खन्न नपाइने बताएको छ ।

सूचनामा भनिएको छ, वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले यस अवधिमा सडक खन्न पाइने छैन ।

सडक डिभिजनले नै वर्षायाममा सडक बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नदिने जानकारी गराएको छ ।

यद्यपि कोही कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गर्ने सडक डिभिजन कार्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्