गाउँपालिका अध्यक्षको अमेरिकी नागरिकता !



काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा दोहोरो नागरिकता विवादमा मुछिनुभएको छ । उहाँमाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले दायर रिटमाथि उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै अध्यागमन विभाग, प्रहरी, प्रशासन कार्यलयसँग १५ दिनभित्र कगजात झिकाउन बुधबार आदेश जारी गरेको हो ।

अमेरिकाको नागरिकता कायम रहेकै अवस्थामा नेपाली नागरिक हुन नसक्ने कानुनी व्यवस्थाको उल्लंघन गर्दै पुरानो नागरिकताको प्रतिलिपि प्रयोग गरेर जनप्रतिनिधि भएको भन्दै रिट निवेदक भुपेन्द्र बहादुर बस्नेतले शेर्पाविरुद्ध मंगलबार मुद्दा दर्ता गराउनु भएको थियो ।
शेर्पाले २०७९ वैशाख ५ मा नागरिकताको प्रतिलिपि लिनुभएको र त्यसबेला अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरेको रिट निवेदकले दाबी गर्दै आएका छन् । गैर नेपालीलाई नागरिकता दिने प्रशासन र निर्वाचित गराउने निर्वाचन आयोगलाई समेत विपक्षी बनाई बस्नेतले मुद्दा दायर गर्नुभएको हो ।

सो मुद्दाका सन्दर्भमा उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले बुधबार अग्राधिकार दिएर १५ दिन भित्र सम्बन्धित निकायसँग दस्तावेजहरू माग गर्ने आदेश जारी गरेको अधिवक्ता गुरुबहादुर बस्नेतले जानकारी दिनुभयो ।

शेर्पाको नागरिकता, पासपोर्ट र गैरआवासीय नेपाली भएर बसेको कागजात समेत झिकाई फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउने उच्च अदालतले मनशाय देखिएको बस्नेतले बताउनुभयो । अमेरिकी नागरिक कायमै रहेको र नेपाली नागरिकता निष्कृय रहेको अवस्थामा शेर्पाले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१) अनुसार कायम नरहेको नागरिकता नम्बर १३१९७÷६२१ को प्रतिलिपी पेस गरी निर्वाचनमा भाग लिनुभएको देखिएको अधिवक्ता बस्नेतले बताउनुभयो ।

‘अमेरिकी नागरिक भएपछि स्वतः खारेज भएको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी निर्वाचनमा भाग लिन नपाउने संवैधानिक तथा कानुनी व्यवस्था रहेको छ । गम्बु शेर्पाको नागरिकता सम्बन्धमा अध्यागमन विभागमा बुझ्दा निजले नेपालमा बस्नका लागि आवासीय (भिसा) प्रवेशाज्ञा लिएर बसेको पाइएको छ’,बस्नेतले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

बुधबारको पेसीमा निर्णय गर्दै अदालतले शेर्पाको गैरआवासीय नेपाली भएर बसोबास गरेको सम्पूर्ण दस्तावेज, नेपाली नागरिकता प्रमाणपत्र र सोसँग सम्बन्धित दस्तावेज एवं अमेरिकी नागरिक त्याग गरेको भए सोको निस्सा पेस गरेको दस्तावेज समेत जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र इलाका प्रशासन कार्यालय खिजीदेम्बाबाट झिकाउन आदेश गरेको छ ।

रिट निवेदक भुपेन्द्रबहादुर बस्नेतले गत स्थानीय निर्वाचनमा शेर्पासँग प्रतिस्पर्धा गर्दा आफू उपविजेता भएकाले सो पदमा आफूलाई पदस्थापन गर्न पनि माग गर्नुभएको छ । शेर्पा अनागरिक भएकाले जनप्रतिनिधिको रूपमा काम गर्न अयोग्य रहेकोे रिट निवेदकको दाबी छ ।’

शेर्पा सन् २०१४ देखि अमेरिकी नागरिक बनेर बसोबास गर्दै आएको र सोही पासपोर्टमा गैरआवासीय नागरिकको रूपमा नेपाल आउने जाने गरेको रिट निवेदनमा दाबी गरिएको छ ।

शेर्पाको नेपाली नागरिकता निष्क्रिय रहेको अवस्थामा निर्वाचन आयोगमा इलाका प्रशासन कार्यालय खिजीफलाटेबाट अनुसुची २ अनुसार पुरानो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिई सोही प्रतिलिपि पेस गरेर चुनावी प्रतिष्पर्धाबाट गाउँपालिका अध्यक्ष जितेकाले नेपालको कानुनबमोजिम कारबाही हुनुपर्ने रिट निवेदक बस्नेतको जिकिर छ ।

‘निजको निर्वाचन बदर गरी म निवेदक प्रतिस्पर्धी भई निजको भन्दा दोस्रो मत प्राप्त गरेको हुँदा बाँकी कार्यकालका लागि उक्त पदमा म निर्वाचित भएको घोषणा गरी पदस्थापना गरी पाऊँ ।’ रिट निवेदनमा भनिएको छ ।

नेपालको संविधान २०७२ को १४४ (१) बमोजिम सार्वजनिक सरोकारको विवादको विषय भएकाले उम्मेदवार हुँदादेखि निर्वाचित सम्मको कागजात गैरकानुनी भएको दाबीसहित शेर्पाको अध्यक्ष पद खारेजीको माग गर्दै मुद्दा दायर गरिएको बस्नेतले बताउनुभयो ।

निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने र निर्वाचित हुन पाउने अधिकार नागरिकलाई मात्रै रहेको संविधानमा व्यवस्था छ । शेर्पाले २०१४ जुन १६ अर्थात २०७२ असार २ गते ५१८१४४६६० नम्बरको अमेरिकी पासपोर्ट लिई अमेरिकी नागरिक भएर बस्दै आउनुभएको थियो ।

शेर्पाले अनुसूची २ को फारम भरेर नेपाली नागरिकता (प्रतिलिपि) लिएको विषयमा प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट नभई खिजिफलाटे इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रतिलिपि लिएको बताउनुभयो ।

नागरिकता ऐनअनुसार अमेरिकी नागरिकता त्याग गरेको निस्सा बुझाएर नागरिकता लिएको वा नबुझाई भन्ने अध्ययन हुने उहाँले बताउनुभयो । विदेशी नागरिकता त्यागको निस्सा बुझाएको भए वैधानिक हुने र नबुझाई लिएको पाइएमा अवैध ठहरिने भन्दै उक्त विषयमा अदालतको आदेशअनुसार कागजात पेस गर्ने उहाँको भनाइ छ ।

नेपाली नागरिकता लिनका लागि आफूले जानेजति सबै प्रक्रिया पुर्याएर नागरिकता लिएको शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेले जाने बुझेसम्म सबै प्रक्रिया पुर्याएर नागरिकता लिएको छु मलाई केही डर छैन । साथीहरूले राम्रो काम गरेको देख्न नसकेर मेरो विरुद्ध अनावश्यक मुद्दा बनाएका मात्रै हुन् ।’

शेर्पाको अमेरिकी नागरिकता र गैरआवासीय नेपाली भएर बसेको सन्दर्भका सबै कागजातहरू अदालतले माग गरेबमोजिम उपलब्ध गराउने अध्ययागमन विभागले जनाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित शेर्पा २८८२ मतका साथ निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र बस्नेत २७५२ मत पाएर पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्