सवारी दुर्घटनामा ९८ जनाको मृत्यु



झापा । झापामा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ६ जना बालबालिकासहित ९८ जनाको ज्यान गएको छ ।

चालु आर्थिक वर्ष २०७९÷०८० को दशमहिनामा विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट यस्तो देखिएको हो ।

दुर्घटना परी ७१ जना पुरुष, २१ जना महिला २ जना बालक र ४ जना बालिकाको ज्यान गएको प्रहरीको तथ्याङ्मा उल्लेख छ ।

सोही अवधिमा ६ सय ७० वटा सवारी दुर्घटना भएका छन् । त्यसमा ९ सय ८५ वटा सवारी साधन संलग्न छन् ।

कुल दुर्घटना सङ्ख्या मध्ये ६० प्रतिशत दुर्घटना चालकले तीव्ररुपमा सवारी चलाएकै कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्लामा हुने अधिकाँश सवारी दुर्घटना तीब्र गतिमा सवारी चलाएकै कारण हुने गरेका छन् । अधिकांश चालकले तीब्ररुपमा सवारी चलाउँदा दुर्घटना हुने र धनजनको क्षति हुने प्रहरी निष्कर्शमा पुगेको छ ।

चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि वैशाखमहिनासम्मको तथ्याङ्कले यस्तो देखाएको छ । कुल दुर्घटना सङ्ख्या मध्ये ६० प्रतिशत दुर्घटना चालकले तीब्ररुपमा सवारी चलाएकै कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक प्रविन जोशी ज्ञावलीको भनाई छ ।

तीब्ररुपमा सवारी चलाउँदा कुनै समस्या आए समयमै सवारी साधन नियन्त्रणमा लिन नसकेका कारण दुर्घटना हुने उहाँले बताउँनुभयो ।

जिल्लामा पैदल र सवारी साधनमा यात्रारत यात्रुका कारण १५ प्रतिशत दुर्घटना भएको अभिलेख कार्यालयसँग छ । त्यसपछि मादक पदार्थ सेवन गरेर, सडकमा जताभावी चौपाया छाडेका कारण ५÷५ प्रतिशत घटना भएका छन् । सवारी साधन एकअर्कामा प्रतिस्पर्धा गर्दा, यान्त्रिक गडबडी, सडकको अवस्था पनि सवारी दुर्घटनाका कारण रहेको उहाँको भनाइ छ ।

प्रहरीले झापाको मेचीनगर—६ पालिया पुल, १३ नम्बर वडाको कालीझोडा, कन्काई नगरपालिका —३ जुके कल्भट, शिवसताक्षी नगरपालिका— १० को माइधार, २ नम्बर वडाको धरमपुर, कमल गाउँपालिका—३ को सानो केर्खा ५ नम्बर वडाको पाडाजुङ्गी, दमक नगरपालिकाको कयाम्पस मोडसहित आठवटा स्थानलाई बढी दुर्घटना हुने स्थानकारुपमा राखेको छ ।

यसवाहेक अन्य साइड मार्गमा समेत दुर्घटना हुने गरेको भएपनि त्यसक्षेत्रमा न्यून सङ्ख्यामा दुर्घटना हुने गरेको ज्ञावलीको भनाई छ । अधिकाँश सवारी दुर्घटना विहान ६ देखि मध्यान्ह १२, र अपरान्ह ३ देखि मध्यरातको समयमा हुने गरेको बताईएको छ ।

प्रहरीको अभिलेखलाई आधारमान्दा सवैभन्दा बढी असोज महिनामा १६ जनाले ज्यान गुमाएका छन् भने सवैभन्दा कम भदौं महिनामा ५ जनाको मृत्यु भएको छ । साउनमा १२ , कात्तिकमा ९ ,मङ्सिरमा १४ , पुसमा १२ , माघमा ७, फागुनमा १० चैतमा ७ र बैशाखमा ६ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्काले जानकारी दिनुभयो ।

अन्य सवारी साधनको तुलनामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउँनेको सङ्ख्या अन्य सवारी साधनका तुलनामा झण्डै ७० प्रतिशत छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेपनि कलिलै उमेरका बढी रहेको कार्यालयले जनाएको छ ।

क्षमता भन्दाबढी चढ्ने अनि तीब्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । अझ हेल्मेट नलगाई मोटरसाइकल चलाउदा यात्रा झन जोखिम हुने गरेको छ । मोटरसाइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनु पर्ने भएपनि अधिकाँशले हेल्मेट प्रयोग गर्दैनन् ।

झापाका सवारी दुर्घटनामा परेर १ सय १९ पुरुष २४ महिला ४ बालक र ५ बालिकागरी कुल १ सय ५२ जना सक्त घाईते भएका छन् भने ९ सय २९ जना सामान्य घाइते भएका छन् । कार्यालयका अनुसार ६ सय ८४ पुरुष १ सय ८६ महिला २७ बालक र ३२ बालिका सामान्य घाइते भएका हुन् ।

दशमहिनामा कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने ४३ हजार ७ सय ५० वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाही स्वरुप ३ करोड ३१ लाख ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेमा पनि सवैभन्दा बढी मोटरसाइकल नै रहेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो दशमहिनामा जिल्लामा १४ हजार १ सय ५२ वटा मोटरसाइकलले सवारी नियम उल्लङ्घन गरेको तथ्याङक् जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग छ । मोटरसाइकललाई कारबाही गरेर ९१ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ् गर्ने, हेल्मेट नलगाउने, डिजिटल हर्न बजाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने कारबाहीमा परेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्