तस्करले अवैध सामान कटाउन प्रहरीलाई घुस दिन खोजेपछि…



धनगढी । कैलालीमा भन्सार छलीको मालसामान छाडिदिन भन्दै प्रहरीलाई घुस दिन खोज्ने एक पुरुष समातिएका छन् ।

बुधबार धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारलमा भारतबाट भन्सार छली गरी ल्याएको आठ हजार बराबरको सामान पास गरेबापत घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

गुप्ताले भारतबाट ल्याएको अवैध समान भित्र्याउन प्रहरीलाई पाँच सय रूपैयाँ दिन खोजेका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको चन्दले बताए ।

उनको साथबाट १५ डब्बा मिठाई, ७ पोका आन्टी नामक सुपारी, ३ पोका चियापत्ती, एक प्याकेट मिल्क पाउडर, १५ पाकेट पेठा, ३ पाकेट चुरन खट्टा मिठा, ८ डिब्बा चकलेट र हल्दी पाउडर एक पोका बरामद गरिएको छ ।

बरामद गरिएको समान र पक्राउ परेका आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्