जनकद्वारा १ अर्ब ७० करोडको पुस्तक बिक्री



–सबैभन्दा बढी बिक्री गर्नेमा विराटनगर
–कक्षा ११ र १२ को छपाइ शुरू
–आगामी शैक्षिक सत्रका लागि छपाइ प्रक्रिया अघि बढ्यो

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १ अर्ब ७० करोड रुपियाँको पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले सानोठिमी मुख्यालयसहित ९ वटा कार्यालयबाट उक्त रकम बराबरको पाठ्यपुस्तक बिक्री गरेको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उक्त रकम कक्षा ६ देखि १० सम्मका २० लाख ४६ हजार ४ सय ५० विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक बिक्री गरेबापत प्राप्त भएको जानकारी दिनुभयो ।

गत वर्ष १ अर्ब ७७ करोड रुपियाँको ४ देखि १० कक्षासम्मकोे पाठ्यपुस्तक बिक्री भएको थियो । चालु आर्थिक वर्षमा करिब १ अर्ब ९० करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखेको केन्द्रले जनाएको छ ।

केन्द्रले चालु शैक्षिकसत्रमा कक्षा ६ देखि १० सम्मको लागि १ करोड ५५ लाख पाठ्यपुस्तक छपाइ गरेको थियो । १ हजार २ सय ६७ स्थानीय बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्री गरेको प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विराटनगर क्षेत्रीय कार्यालयबाट १९ लाख ११ हजार ३ सय ५०, जनकपुर क्षेत्रीय कार्यालयबाट १७ लाख ४२ हजार४ सय, भरतपुरबाट १५ लाख ७१ हजार ५ सय, कास्की प्रदेश कार्यालयबाट ९ लाख ३५ हजार, बुटवलबाट १४ लाख ७१ हजार, नेपालगञ्जबाट १४ लाख ५३ हजार ५सय, सुर्खेतबाट ९ लाख २५ हजार, धनगढीबाट १९ लाख ५ हजार ४ सय र सानोठिमीस्थित मुख्यालयबाट १९ लाख २ हजार ५ सय थान पाठ्यपुस्तक बिक्री भइसकेको जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी विराटनगर क्षेत्रीय कार्यालयबाट बिक्री भएको छ । प्रबन्ध सञ्चालक झाकाअनुसार कक्षा ६ को ३० लाख, ७ को २९ लाख, ८ को २८, ९ को ३१ र १० को ३२ लाख थान पाठ्यपुस्तक छपाइ पूरा भएको छ । १० कक्षाको ३०–३० लाख थान पाठ्यपुस्तक छपाइ भएको थियो ।

केन्द्रले चैत १५ देखि हिमाली त्यसपछि पहाडी र अन्तिममा सुगम जिल्लामा बिक्री वितरण शुरू गरेको थियो । असार मसान्तसम्म लगातार बिक्री हुने भएकोले आम्दानी रकम बढ्ने जनाएको छ । यो वर्ष ५ वटा रंगिन मेसिन खरिद गरी दैनिक करिब १ लाख ५० हजार थान पाठ्यपुस्तक तयार गरेको कारण समयमै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्न सकेको बताउनुभयो ।

प्रबन्ध सञ्चालक झाले ११ र १२ कक्षाको नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा गरी तीन अनिवार्य विषयको पाठ्यपुस्तक धमाधम छपाइ भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रले निरन्तर सहयोग गरेको कारण पाठ्यपुस्तक अभाव नभएको हो ।’

केन्द्रले ६ देखि १० कक्षासम्म प्रत्येक कक्षामा ५–५ लाख विद्यार्थी भएको अनुमानको आधारमा पाठ्यपुस्तक छपाइ गरेको थियो । सरकारले चालु शैक्षिक सत्रको लागि कक्षा १ देखि १० सम्म ३ अर्ब ४० करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।

यसैबीच आगामी शैक्षिक सत्र २०८१ सालका लागि केन्द्रले नयाँ पाठ्यपुस्तक छपाइ प्रक्रिया शुरू गरेको छ । केन्द्रले ३ हजार टन कागज खरिद प्रक्रिया शुरू गरेको छ । कागज आएसँगै साउनबाट पाठ्यपुस्तक छपाइ शुरू हुने केन्द्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्