आजबाट कक्षा १२ को परीक्षा- कानुन मिचेमा सबै परीक्षा रद्ध



–अर्को वर्ष दिन नपाइने
–गत वर्षभन्दा ७० हजार परीक्षार्थी बढी
–अशक्त विद्यार्थीलाई आफ्नै विद्यालयमा उपकेन्द्र
–१७ जना विदेशी विद्यार्थी

काठमाडौं । यो वर्षको कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । परीक्षामा तीन विषयमा नन ग्रेड (एनजी) ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको भन्दा यो वर्ष करिब ७१ हजार परीक्षार्थी थपिएका छन् ।

परीक्षामा १ हजार ४ सय ५७ केन्द्र कायम गरिएको छ । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रूपमा लिइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शुरू हुनु आधा घण्टा अघि मात्र इमेलबाट प्रश्नपत्र पु¥याउने व्यवस्था भएको जानकारी दिनुभयो । परीक्षामा बोर्डले सबै केन्द्राध्यक्षलाई पासकोडको व्यवस्था गरेको छ । परीक्षा शुरू हुनुअघि प्रश्नपत्र प्राप्त भएपछि प्रिन्ट वा फोटोकपी गरेर विद्यार्थीलाई प्रश्नपत्र दिने व्यवस्था गरेको छ । परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

बोर्डले अपाङ्गता र अशक्त विद्यार्थीलाई आफ्नै विद्यालयको उपकेन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डका वागमती प्रदेश कार्यालय प्रमुख जयन्ती सत्यालले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण शर्माका अनुसार परीक्षामा कुनै पनि प्रकारका क्यामरा लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ ।

परीक्षामा गत वर्ष ३ विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिनेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका–२०७८ को दफा ७ ‘ङ’ संशोधन गर्दै तीन वर्षसम्म जतिवटा विषयमा एनजी आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेसँगै ती विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागी हुन पाएका हुन् ।

यो भन्दाअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरूमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।

यो वर्षको १७ जना विदेशी विद्यार्थी परीक्षामा सहभागी हँुदै छन् । विदेशी विद्यार्थीले अनिवार्य नेपालीको सट्टा अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षा विषय अंग्रेजी भाषामा दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्