परिषद्को निर्णय उल्ट्याउँदै बोर्ड- नेपाली भाषामा दिनुपर्ने परीक्षा अब दुई भाषामा

२० गते बस्ने परिषद्को बैठकपछि निर्णय हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयविपरीत सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र र उत्तर पनि नेपाली र अंग्रेजी भाषामा दिने पाइने व्यवस्था गर्न लागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने परिषद्मा सो परिषद्को बैठक नबस्दै बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ठाडो निर्णय गरी सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लागेको हो ।

बोर्डका अध्यक्ष शर्मा र सदस्य सचिव अर्यालले कूटनीतिक नियोग, जापानमा सञ्चालित एभरेस्ट स्कुल र केही निजी विद्यालयको दबाब थेग्न नसकेर दुई भाषामा प्रश्नपत्र बनाउने तयारी गरेका हुन् । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा मातृभाषा वा नेपाली भाषा उल्लेख छ । सामाजिक अध्ययन र मानव मूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुबाहेक अन्य विषयका लागि भने अंग्रेजीलाई पनि माध्यम भाषा बनाउन सकिने नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, माध्यमिक तहमा भने नेपाली वा अंग्रेजी माध्यम भाषा हुने छ तर सामाजिक अध्ययन र मानवमूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि पाठ्य सामग्री र माध्यम नेपाली भाषा हुने उल्लेख छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले परिषद्को निर्णय अनुसार नेपाली भाषामा मात्रै परीक्षा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपाली र अंग्रेजीमध्ये एउटा भाषामा दिने विषयमा दबाब आइरहेको छ । वैशाख २० गते परिषद्को बैठक बसेर निर्णय गर्ने छौंं ।
उहाँले दुई भाषामा परीक्षा दिन पाउनुपर्ने व्यवस्था गर्ने अधिकार बोर्डलाई नभएको स्पष्ट पार्नुभयो ।

कूटनीतिक नियोगमा कार्यरत कर्मचारीका बालबालिकाले सामाजिक विषय नेपाली भाषामा दिन सक्दैनन् । सरकारले त्यस्ता विद्यार्थीका लागि अनिवार्य नेपाली विषयको सट्टा ऐच्छिक अंग्रेजी विषय दिनुपर्ने व्यवस्था गरेको छ । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा सामाजिक तथा जीवन उपयोगी शिक्षा विषय नेपाली भाषामै दिनुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको बर्खिलाफमा बोर्डका अध्यक्ष र सदस्य सचिवद्वयले निर्णय नै खारेज गरी नयाँ व्यवस्था गर्न लागेका हुन् । गतवर्ष पनि तीन निकायमा सामाजिक तथा जीवन उपयोगी शिक्षा दुवै भाषामा दिन पाउनुपर्ने दबाब दिएको थियो ।

बोर्डले इन्कार गरेपछि गएको वर्ष नेपाली भाषामा मात्र प्रश्न सोधिएको थियो । परीक्षा आउनु करिब १० दिनमात्रै बाँकी रहँदा बोर्डले दुवै भाषामा वा नेपालीमा मात्रै प्रश्नपत्र सोध्ने ? भन्ने निर्णय गर्न सकेको छैन ।

बोर्डले हिजो शनिबार आफ्नो वेवसाइटमा समाजिक विषयको परीक्षा अंग्रेजी र नेपालीमध्ये कुन विषयमा दिने ? भन्ने विषयमा सुझाव माग गरी सूचना जारी गरेको छ । यसअघि सामाजिक विषयको नमुना प्रश्नपत्र अंग्रेजी भाषामा राखेको थियो । मूल्याङ्कन परिषद्को निर्णयविपरीत हुने भएपछि बोर्डले सूचना जारी गरी सुझावका लागिमात्रै उल्लेख गरेको छ ।

यसअघि ३० विषयको नमुना प्रश्नपत्र जारी गर्दा सुझाव मागिएको छैन । शनिबार राखेको सूचनामा नमुना प्रश्नपत्रमा कुनै सुझाव भएमा सोमबारसम्म सुझाव दिन आग्रह गरेको छ ।

यो वर्षको परीक्षामा ४ लाख ६७ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि १ हजार ४ सय ५३ परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ । सामाजिक विषयको परीक्षा वैशाख २९ गते हुनेछ ।

बोर्डले यो वर्षको परीक्षाको प्रश्नपत्र पनि ईमेलबाट पठाउने भएको छ । बोर्डले विसं २०७७ देखि प्रश्नपत्र ईमेलमार्फत पठाउँदै आएको छ । सम्बन्धित बोर्डले प्रश्नपत्र आफैं प्रिन्ट गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्