मानव अधिकार रक्षक कुटिएको विषयलाई लिएर प्रशासनलाई ध्यानाकर्षण पत्र



कालिकोट। 

स्थानीय मानव अधिकार रक्षक कुटिएको विषयलाई लिएर जिल्ला स्थित मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

तिलागुफा नगरपालिका–१० रानावाडाका ७० वर्षीय खाम्मा रानाले ०७९ चैत्र ६ गते एक १४ वर्षीया अपाङ्गगता भएकी बालिका बलात्कार घटनाको उजागर गरेको आरोपमा आरोपितका आफन्तबाट मानव अधिकार रक्षकहरु कुटपिटमा परेपछि कुटपिटमा संलग्न रानालाई कानुनी कारबाही गरी अधिकारकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा बुधबार ध्यानाकर्षण पत्र बुझाएका हुन । साथै तोडफोड गरिएको सामग्रीको क्षतिपूर्तिका लागि पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

बालिका बलात्कार घटनाका बारेमा प्रहरीलाई खबर गरेको आरोपमा उनका भतिजा नाता पर्ने जयलाल रानाले तिलागुफा नगरपालिका–७ निवासी मानव अधिकार रक्षक एवम् नागरिक समाज तिलागुफाका संयोजक विक्रम शाही सदस्य सरिता शाही र दुर्ग बहादुर शाहीलाई वैशाख ११ गते कुटिपिट गरी घाइते बनाउनुका साथै कार्यालयमा रहेको प्रिन्टर, ट्याब्लेट र कम्प्युटर तोडफोड गरेका थिए ।

अधिकारकर्मीहरुद्धारा संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपालको संविधान २०७२ को धारा ३९, बालबालिकासम्बन्धी ऐन २०७५, मुलुकी अपराध संहिता २०७४ ले बालबालिका विरुद्धको कसुरको रुपमा रहेको बलात्कार जस्तो घटनालाई लुकाएर राख्ने, पैसा लेनदेनमा मिलाउने, उल्टै पीडित सुस्त मनस्थितिकी अपाङ्गता भएकी बालिकाको घरपरिवार र बालअधिकारकर्मी माथिको आक्रमणको विरोध गर्दछौ भन्ने उल्लेख छ ।

साथै ध्यानाकर्षण पत्रमा अपाङ्गगता तथा अति जोखिममा रहेकी बालिकामाथिको यो अमानवीय घटनाको निन्दा गर्दै अबोध बालिकामाथि हुने यस्ता खालका हिंसाहरुलाई  कानुनी तथा सामाजिक अपराधको रुपमा सिङ्गो राष्ट्रले स्वीकार गरिसकेकोे अवस्थामा यस किसिमको घटना हुनु दुःखद र निन्दनीय भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी पीडकलाई हदैसम्मको कानुनी कारबाही गर्न माग पनि गरिएको छ ।

बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेश उपाध्यक्ष तुलाराम पाण्डे,  महिला अधिकारकर्मी कविता चापागाई, गीता वलि,नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष नमराज योगी, मानव अधिकारकर्मी एवम् पत्रकार कालीबहादुर मल्ल,बाल अधिकारकर्मी बाले विश्वकर्मा, मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्लीप्रसाद चौँलागाँई लगायत २२ जना अधिकारकर्मीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी माझी र प्रहरी प्रमुख डिएसपी जयश्वर रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

मानव अधिकारकमीले संयुक्तरपमा वुझएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माझिले मानव अधिकारको वकालत गर्ने अधिकारकर्मी माथि आक्रमण गर्नु गैर कानुनी भएकाले आक्रमणकारीलाई कानुनी कारबाहीको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्