क्षणिक सरकार, कमाउ धन्दा र सुध्रनुपर्ने बिन्दास जनता



गधाको खप्परमा जति साबुन घोटे पनि त्यो गधा घोडा हुन सक्दैन, कारण सही गन्तव्यमा छिटो पुग्न घोडा नै काम आउँछ । भन्न खोजेको कुरा के भने, एक–अर्कालाई सधैँ दोष, गाली दिएर मुलुकको समस्याको समाधान हुने होइन, सर्वप्रथम त दलाल, पुँजीवाद तथा दासप्रथालाई अन्त्य गरी आफू सच्चिने हो । यस्तो बेलामा राम्रो सोच र ठूला मन भएका मानिसहरुले नै मुलुकलाई दौडाउने हो । अर्को शब्दमा भन्ने हो भने, देशलाई बचाउन र द्रुत विकासमा लैजान यस्ता व्यक्तिहरु चुक्नुहुँदैन ।

अहिलेको परिप्रेक्ष्यमा यसो हेर्दा मानिसको जीवनशैलीको विकास भएको देखिन्छ । तर मुलुकमा महँगीको मार छ अर्थात् मानिसको आर्थिक अवस्था कमजोर छ । यसबाहेक मानिसका अनेक इगो, देखावा, बाध्यता आदि कारणले गर्दा यो मुलुकमा नागरिक बस्न रुचाएनन् । त्यसकारण अहिले आएर नेपालीहरु विदेश पलायन हुनु फेसनसरह भइराखेको छ । एक हिसाबले भन्ने हो भने, यो हाम्रो लागि केही आर्थिक लाभ भए पनि दुःखको कुरा पनि हो । कारण नेपालीहरुले विदेशमा यातना पाउनु, उनीहरु कतिपयको लास बाकसमा फर्कनु, छलकपटका कारण विदेशमा अलपत्र भएर बस्नुपरेको् अवस्था छ । यो उनीहरुको बाध्यता पनि हो । मानिसले आफ्ना परिवार, बुद्धिजीवी तथा युवाशक्ति गुमाउनुपर्ने अवस्था दिन–प्रतिदिन बढिराख्नुलाई पनि विडम्बना नै मान्न सकिन्छ ।

आखिर यो सब देश चलाउनेहरु, खराब संस्कार र मानिसको खराब आचरणले निम्त्याएका कुराहरु नै हुन् । फेरि हामी सधैँ वीर नेपाली, दौरा–सुरुवाल, टोपी आदिको तारिफ गरेर नखरा किन गरिराखेका हुन्छौं ? यो नखरा गरेअनुसार नेपालको गरिमा बढाउनुप¥यो नि ! देशको लागि मरिमेट्नुप¥यो नि !

एउटा उखान छ, ‘टाइम टाइम कि बात मुर्गा मारे लात ।’ यो उखानको माने हो, मानिसले आफ्ना सन्तान जन्माउँछन्, हुर्काउँछन्, बढाउँछन् तर पछि गएर ती सन्तानले नै आफ्ना आमाबाबुलाई र देशलाई नै छोडेर विदेशिन्छन् । यस्तो बेला मानिसले कसको मुख ताक्ने ? विदेश पलायन हुनेहरुलाई मानिसले ठीक, बेठीक दुवै मान्लान् । देशमा डलर भित्रिराखेको छ भने यसलाई ठीक पनि मान्लान् । यस्तो अवस्थामा बिस्मात् किन गर्ने ? तर यो विचारचाहिँ धेरै पैसाको तृष्णा गर्ने र मुलुक चलाउनेहरुको नै हो । यसमा देश चलाउनेहरुको पनि स्वार्थ हुन सक्छ । किनभने देशमा भित्रिएको रेमिट्यान्सले दहीमा लात हिर्काएसरह यिनी तथा यिनीहरुका समूहले मोज गरिराखेका हुन्छन् ।

अहिले देशमा थुप्रै आयस्रोत हुँदा पनि अर्थ भित्र्याउन सकिराखेको छैन । जसका कारण मुलुकको अवस्था खराब छ, भएको राष्ट्रधन पनि दुरुपयोग भएको छ । शायद यही कारणले गर्दा यो देशमा मानिसहरु बस्न नरुचाउनु विडम्बनाको कुरा हो । अहिले सरकारहरुको क्रियाकलाप र भाषणहरुले देशमा केही आर्थिक सुधार त होलाजस्तो लाग्छ, तर पूरा आशा भने देखिँदैन । कारण फेरिइराख्ने सरकारको खोटो नियतको रोगले गर्दा र कुम्भकर्णजस्ता जनताले गर्दा पनि देश अझै एकनासले चलिराखेको देखिन्छ । त्यसकारण वर्तमान सरकारले रोजगारलाई वृद्धि गरेर अघि बढ्नुपर्ने आवश्यक छ ।

यसबाहेक बेरुजु रकम, सरकारी भत्ताहरु कम, बुद्धिजीवी च्याप्नु आदि कुरामा पनि सरकार गम्भीर रुपले ध्यानाकर्षण हुनु जरुरी छ । अन्यथा देश सधैँ उस्तै हो, घूस खानेले खाइराख्ने, एक–अर्कालाई गाली थोपरिराख्नेले गर्दा मुलुक विकास उन्मुख देखिए पनि मानिसको जीवन सोकेसमा राखेका महँगा सामानसरह भइराखेको छ, जुन मानिसले किनेर उपभोग गर्न पाउनु क्षमताभन्दा बाहिरको कुराजस्तै भएको छ ।

वास्तवमा भन्ने हो भने अझै केही बिग्रेको छैन । यदि नेता र कार्यकर्ताहरु बदल्ने हो भने देश अघि बढ्नेछ । कारण यसले गर्दा लगानीको वातावरण बन्नु, रोजगारको सृजना धेरै हुनुजस्ता कुराहरुले नै युवापुस्ताहरु विदेशमा पलायन हुनुमा कमी आउनेछ । हाम्रो देशमा एउटा विचित्र के छ भने, कुन धुनमा मानिसहरु दौडिराखेका छन्, जस्तै सरकारले मानिसलाई व्यवहारमा हौसला दिन नचाहनु, मानिसमा जाँगर उत्पन्न नहुनु, योगदान गर्न नचाहनु, धैर्य नगर्नु, ज्ञान हासिल उपलब्ध गर्न नचाहनु आदि कारणले गर्दा पनि देश सुस्त भइराखेको मान्न सकिन्छ । त्यसकारण सरकारको साथै यस्ता व्यक्तिहरु बदल्नु पनि निकै जरुरी छ ।

अर्को कुरा के छ भने, देशमा जतिसुकै रेमिट्यान्स भित्रिए पनि हामीले पनि हाम्रो हिरामोतीजस्ता कुराहरु गुमाइराखेका छौं । यी कुराहरुमा सरकार गम्भीर हुनुपर्दछ । त्यो के भने, बुद्धिजीवी तथा श्रमिकहरु विदेशको दास भएर बस्नुपर्ने अवस्था आएको छ । तर यस्ता व्यक्तिले आफ्नै देशमा योगदान गर्ने भइदिएको भए हाम्रो देश पनि धेरै उचाइमा पुग्थ्यो होला । तर यहाँसम्म विचार पु¥याउने सीमित व्यक्तिमात्र होलान्, बाँकी त उही दालभात कम्पनी नै हो । कुर्सी–कलह, धन–कलह, गाली–कलह, अज्ञान–कलह, यतिसम्म कि महिला–कलह गर्नमा समेत यहाँका मानिसलाई फुर्सद छैन । यस्तो बेलामा मुलुक मुलुक भनेर किन हामीले मात्र कपाल दुखाइराख्नु ? तर भनेर पनि के गर्ने, नमरुन्जेल हामी नचाहेर पनि यही मुलुकमा बस्नुपर्दछ ।

अन्त्यमा एउटै मात्र कुरा पोख्न चाहन्छु । एकले अर्कालाई नबनाउने, नसिकाउने हो । खालि खान, पिउन, कमाउन र कलहको लागि मात्र हामी यहाँ बाँचिराखेका छौं भने बाँदर–कुकुर र मनुष्यमा के फरक भयो त ?

प्रतिक्रिया दिनुहोस्