राजधानी अन्यत्र सार्न बालेनको चेतावनी

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहले सरकारप्रति आक्रोश जनाउँदै काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न चेतावनी दिनुभएको छ । ६ दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास वालुवाटारको फोहोर उठाउन नदिएका मेयर शाहले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबार वा संघीय राजधानी जे सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नभएको जनाउनुभएको छ ।

मेयर साहको अराजक अभिव्यक्तिले गर्दा वागदबार र सिंहदरबारबीचको दूरी बढेको छ । वार्ता गरेर समस्या समाधान गर्नुको साटो अराजक स्टाटस लेखेपछि सरकार वार्ता गर्ने वा नगर्ने भन्ने दोधारमा रहेको छ । चार दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले मेयर साहको गतिविधिप्रति असन्तोष जनाएको थियो । मन्त्रिपरिषद्को बैठकले फोहोर रोकेर समस्या समाधान हुन नसक्ने भन्दै मेयर साहलाई सचेत गराउने तयारी गरेको थियो ।

सरकारको भनाइप्रति आक्रोश जनाउँदै मेयर साहले सिंहदरबार नै सार्न चेतावनी दिँदै सामाजिक सञ्जालमा लेख्नुभएको छ–‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्, हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस्, कि राजधानी सार्नुस् ।’