कांग्रेसको आन्तरिक भागबन्डा सहमतिनजिक

0
Shares

काठमाडौं । चैत्र १७ बाट सरकारमा सहभागी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्रालय संख्या लेनदेनको आन्तरिक भागबन्डा सहमतिनजिक पुगेको छ ।संस्थापनइतर समूहले तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने विषयमा दुवैपक्षबीच सकारात्मक छलफल भएको हो ।

डा. शेखर कोइरालाको सचिवालयमा बिहीबार बसेको डा. शेखर–गगन थापा समूहको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा तीन मन्त्री र एक राज्यमन्त्री दिन सकारात्मक भएको विषयमा छलफल भएको हो ।बैठकमा महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ८ मन्त्रालय पाएको कांग्रेसलाई थप १ मन्त्रालय दिने सम्भावना बढेको र आफ्नो समूहले दाबी गरेअनुसार तीन मन्त्रालय र एक राज्यमन्त्री दिन सभापति सकारात्मक रहेको सुनाउनुभएको संस्थापनइतर समूहका नेता सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘यस विषयमा हामी छलफलमै छौं । महामन्त्रीजीले सभापति संस्थापनइतर समूहबाट ३ मन्त्री र एक राज्यमन्त्री पठाउने विषयमा सकारात्मक रहनुभएको कुरा सुनाउनुभएको छ । तर, निर्णय नै भइनसकेकाले ठ्याक्कै भन्न त सकिन्न । यद्यपि, मोटामोटी हामीलार्ई ३ मन्त्री र एक राज्यमन्त्रीको कुरा भएको छ ।’उहाँले मन्त्रीहरूक–कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफल पनि भइरहेकोे जानकारी दिनुभयो । यद्यपि,उपनिर्वाचनअघि मन्त्रीमण्डलले पूर्णता पाउने सम्भावना भने कम रहेको उहाँले बताउनुभयो ।

गठबन्धन सरकारमाआठ मन्त्रालय पाएको कांग्रेसलेगत चैत्र १७ को मन्त्रिपरिषद् विस्तारमा आठवटै मन्त्री पठाउने तयारी गरेको थियो । तर,सभापति शेरबहादुर देउवाले संस्थापनइतर समूहबाट २ मन्त्री मात्रै पाउने भनेपछि शेखर–गगन समूह पछि हट्दै सम्मानजनक उपस्थिति नभएर सरकारमा सहभागी नहुने बताएको थियो ।

कांग्रेसले आन्तरिक किचलोका कारण सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भइरहेको छ । सरकारले पूर्णता नपाउनुको प्रमुख कारक कांग्रेसको आन्तरिक किचलो भएको गठबन्धनका नेताहरूले बताउँदै आएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले कांग्रेसका कारण सरकार विस्तारमा ढिलाइ भएको बताउँदै आउनुभएको छ । उहाँले उपनिर्वाचनलगत्तै सरकारले पूर्णता पाउने र सरकारका काम द्रुत गतिले अघि बढ्ने बताउनुभयो ।

कांग्रेस सभापति देउवाले कोइराला समूहका एक राज्यसहित चार नेता सरकारमा व्यवस्थापन गर्न सकारात्मक देखिएपछि उक्त समूहबाट कसलाई पठाउने भन्ने आन्तिरिक गृहकार्य शुरू भएको एक नेताले बताए ।

गत चैत १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसले आठ मन्त्रालय पाएपनि ४ जनालाई मात्रै मन्त्री बनाएको थियो।उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बन्नुभएको थियो।

जनमत पार्टीको तर्फबाट खानेपानी मन्त्री बन्नुभएका अब्दुल खान सरकारबाट बाहिरिएपछि कांग्रेसलाई एक मन्त्रालय थप हुने भएसँगै पार्टीको आन्तरिक किचलो मिलाउन देउवालाई सहज भएको हो ।योसँगै सभापति देउवाले ३ मन्त्री र एक राज्यमन्त्री छान्न संस्थापनइतर समूहलाई आग्रह गर्नुभएको नेताहरूले बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिले तय गरेको मापदण्डभित्र रहेर मन्त्री छान्ने सहमतिसमेतशेखर–गगन समूहको बैठकमा भएको एक नेताले बताए । उनले भने– ‘पार्टीले ८ मन्त्रालय पाउँदा कम्तीमा ३ मन्त्रालय संस्थापनइतरलाई दिनुपर्छ भन्ने हाम्रो अडान हो। जनमत पार्टी सरकारमा नजाने देखिएकोले अब कांग्रेसले ९ मन्त्री र एक राज्यमन्त्री पाउने अवस्था बनेको छ ।३ मन्त्री र एक राज्यमन्त्रीको सूची बनाएर सभापतिलाई पठाउने विषयमा सल्लाह हुँदैछ ।’

उक्त समूहबाट उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसद प्रदीप पौडेल, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य, राजेन्द्र बजगाई, मैना रावललगायत मन्त्रीका लागि आकांक्षी छन् । यो समूहबाट योग्यता र क्षमता हेरेर मन्त्री छान्ने कुरा भएको मन्त्रीका आकांक्षीसमेत रहनुभएका सहमहामन्त्री जीवन परियारले बताउनुभयो । मन्त्रीहरू एक वर्षमा फिर्ता बोलाउन पनि सकिने र राम्रो काम गरिरहे निरन्तरता पनि दिन सकिनेजस्ता विषयमा समेत छलफल भइरहेको उहाँको भनाइ छ । सभापति देउवाले भने सांसदहरू एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने सूचीमा समावेश गर्नुभएको छ ।

कांग्रेस परराष्ट्र, कानुन न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी वा वन मन्त्रालयमध्ये एक लिने गरी थप मन्त्री पठाउने तयारीमा छ । अहिले सरकारका ६ मन्त्रालय मन्त्रीविहीन छन् ।