काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द हुन्छ : भौतिक पूर्वाधार मन्त्री ज्वाला 

0
Shares

 सल्यान। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समय अवधि भित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनु भएको छ । ठेक्का लिएर सम्झौता गरिसकेका तर समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघ सल्यानले आज खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले जुनसुकै ठाउँबाट दबाब आए पनि काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिने बताउनुभयो ।

उहाँले भन्नु भयो, निर्माण व्यवासायीहरुले  ठेक्का लिने र होल्ड गर्ने काम भइरहेको छ , ठेक्का लिएर सम्झौता भैसकेपछि, हामी काम गराउनेमा जान्छौ, उपाय नै भएन भने त्यो ठेक्का हामी तोड्छौ, र तत्काल नयाँ ठेक्का प्रक्रियामा जान्छौ,  विकास निर्माणका योजना प्रति बदमास र बेइमानी गर्ने कुनै निकायलाई छुट नभएको भन्दै मन्त्री ज्वालाले जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्ने बताउनुभयो ।

कतिपय योजनामा टेण्डर नै नपर्ने, कतिपय योजनामा टेण्डर परेर सम्झौता हुने तर काम अगाडी नबढने समस्या देखिएकाले यसलाई तत्काल सुधार गर्ने र लामो सम देखि  अलपत्र परेका गौरवका महत्त्वपूर्ण योजनालाई महत्त्व दिएर काम गर्ने बताउनुभयो  ।

उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नका निम्ति मद्दत गर्ने  खालका योजनामा पनि जोड दिने र ढिलाइ भएका विकास निर्माणका कामलाई प्राथामिकता दिने बताउनुभयो ।

मन्त्री ज्यवालाले यातायात क्षेत्रमा बिचौलियाको चलखेलले गर्दा जनताले दुख पाएको, भाँडादर जथाभावि लिएको गुनासो आएकोले यसलाई सुधार गर्ने बताउनु भयो । बिस बर्से पुराना चल्न नसक्ने गाडी चलिरहेकाले यसले दुर्घटनाकाको जोखिम बढेकाले यसलाई ध्यान दिने बताउनुभयो ।

यसैबीच मन्त्री ज्वालाले सल्यान जिल्लाको राप्ती लोक मार्ग र मदनभण्डारी राजमार्ग आफ्नो प्रमुख प्राथमिकता भएको बताउनु भएको छ । सल्यानी जनताको प्रमुख समस्या राप्ती लोक मार्ग भएको बताउँदै आफ्नो कार्यकालमा नै लोक मार्गको पूर्ण रुपमा स्तरोन्नति गर्ने र आगामी दिन टु वे बनाउने गरी तयारी भइरहेको बताउनुभयो ।

ज्वालाले आफूले पाएको जिम्मेवारी सफलता पूर्वक पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको भन्दै निर्वाचनका समयमा जनता सामु गरेका प्रतिबद्धता पुरा गरेर जनताको मतलाई स्थापित गर्ने बताउनुभयो