नेकपा एस ललितपुरका सचिवसहित ३९ जना नेता कार्यकर्ता एमालेमा फर्किए

0
Shares

ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सुदर्शन मिश्र सहित दर्जनौँ जिल्ला तहका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मै फर्किएका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा ललितपुर जिल्ला कमिटिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले मिश्र सहितका ३९ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्ने अन्य व्यक्तिहरुमा एकीकृत समाजवादीको पेसागत महासंघका केन्द्रिय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य शालिकराम मिश्र,पार्टी जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल,माधव बन्जारा,कृष्ण महर्जन,राजन घिमिरे,विष्णु घिमिरे ,सानुमैँया कार्की,रुद्र बहादुर केसी सहित ३९ जना रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव शंकर पोखरेलले देशका मूल राजनीतिक शक्तिहरु नेकपा एमाले र नेपाली काङ्ग्रेस रहेको अवस्थामा एमालेलाई बलियो बनाउनुपर्ने कुरामा कुनै सन्देह नरहेको बताए । हाल विपक्षी दलहरुले एमालेलाई संविधान विरोधीको रुपमा हल्ला गरिरहेको भन्दै जनताको एमालेप्रतिको बढ्दो उत्साहले त्यो हल्लालाई गलत प्रमाणित गर्दै एमाले नै अबको पहिलो शक्ति बन्ने पोखरेलको दावी छ ।

पार्टी प्रवेशको नेतृत्व गरेका सुदर्शन मिश्रले आफूले विगतमा पार्टी छोडेकोमा आत्मआलोचना गर्दै पूरानो सदस्यता नवीकरण गरेर एमालेमा फर्किएको र एमालेलाई सबै तवरबाट बलियो बनाउन तथा आगामी निर्वाचनमा सबै तहमा पार्टी जिताउनका लागि हर तरहले लागिपर्ने बताए । देशको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले मात्र भएको मिश्रले बताए ।