महामारी नियन्त्रणमा होटल व्यवसायीको ‘सचेतना’ 

0
Shares

काभ्रे । 

जिल्लामा फैलिएको कोभिड, डेंगी, रेबिज, आत्महत्या तथा फैलन सक्ने झाडापखालाजन्य महामारी नियन्त्रणका लागि होटल ब्यवसायीहरुसँग जिल्ला कोभिड अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समितिले अन्तरक्रिया गरेको छ ।

काभ्रेपलान्चोकका होटल सम्पूर्ण हिसाबले स्वस्थ, गुणस्तरीय र महामारी फैलन नसक्ने अवस्थामा सुरक्षित रहेको सन्देश दिने गरी योजना निर्माण गरी कार्य गरिने निष्कर्ष निकालिएको छ ।  ‘जिल्लाका सबै क्षेत्र स्वास्थ्यका हिसाबले सुरक्षित छन् भन्ने सन्देश दिन पालिका स्तरमा र जिल्ला स्तरमा समिति गठन गरिएको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘पहिलो चरणमा होटलमा कार्यरत सुपरभाईजरलाई अभिमुखीकरण गरिनेछ ।

होटलहरुले स्वास्थ्यसँग केन्द्रित गरेर एक जना सुपरभाइजर तोक्नेछन् ।’ होटलमा आउने पाहुनाहरूलाई हुन सक्ने स्वास्थ्य संकट तथा महामारी पूर्व जोखिम घटाउन अपनाउनु पर्ने उपायका बारेमा सचेत गराउँदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुपरभाईजहरु सहयोगी बन्नेछन् ।

उनीहरूलाई वैशाख ४ गते सोमबार धुलिखेल लज रिर्साेटमा तालिम प्रदान गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले जानकारी दिनु भयो । काभ्रेपलान्चोक जिल्लामा कोभिड बढिरहेकाले सजगता अपनाउनु पर्ने सहभागीहरूले जोड दिए । कोभिड १९ कारण काभ्रेपलान्चोक जिल्लामा १ सय ९६ जनाको निधन भएको छ ।

हालसम्म १८ हजार १ सय ९५ जना संक्रमित भएका छन् । पछिल्लो नयाँ भेरियन्टबाट ४३ जना सक्रमित भएका छन् । ३२ जना सक्रिय संक्रमित छन् । एक जना गम्भीर छन् । समितिले दोस्रो बुस्टर डोजका लागि ५५ वर्ष माथिका नागरिकहरूलाई सहभागी हुन आव्हान गरेको छ ।

वर्षासँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी नियन्त्रणमा ध्यान दिन होटल ब्यवसायीहरुलाई सचेत रहन समितिले अनुरोध गरेको छ । होटलमा प्रयोग भएका सजावटका सामाग्री, फुलका गमला तथा नियमित पानी जम्ने स्थलहरूको सरसफाइ गर्न तथा हरेक दिन पानी फेरबदल गर्न अनुरोध गरिएको छ ।

मन्दिरहरूमा राखिएका दियो तथा मकलहरु, घरका छतमा रहने टायर तथा अन्य स्थलहरूमा पानी जम्ने र त्यही लामखुट्टेले फुल पारेर संख्या बढाउने भएकाले जिल्लाका १३ वटै पालिकाका नागरिकहरू सचेत रहनु पर्ने डा. सेढाईले बताउनु भयो । डेंगी कोभिडसँगै लक्षण मिल्दोजुल्दो भएकाले यसबाट पार्न सक्ने असर तथा नागरिकको मृत्यु प्रति सचेत रहन अनुरोध गरिएको छ ।

अघिल्लो वर्ष डेंगीका कारण जिल्लामा ६ सय ८१ संक्रमित भएका छन् भने केहीको निधन भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले महामारी नियन्त्रण तथा गुणस्तरीय खाना र खाद्यान्नका लागि सरोकारवाला निकायसँग समन्वय गरी अभियान सञ्चालन गरिने बताउनु भयो । धुलिखेल नगरपालिका उपप्रमुख नीराजन जंगमले महामारी नियन्त्रणमा स्थानीय सरकार प्रभावकारी रूपमा सक्रिय हुने बताउनु भयो ।

जिल्लामा स्क्रवटाईफस, टाईफाईड, कालाजार, आत्महत्या तथा फोहोर पानी पिउँदा झाडापखालाको महामारी हुन सक्ने भएकाले समयमै सचेत रहन नागरिकहरूलाई स्थानीय तह मार्फत सचेत गराउनु पर्ने सहभागीहरूले बताए ।

रेविजको महामारी पनि उत्तिकै भएकाले रेबिजबाट बच्न सामुदायिक कुकुरहरूलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउन, लक्षण देखिएको अवस्थामा तत्काल स्वास्थ्य संस्थामा खबर गर्न र सुरक्षित रहन, पशुहरूमा लक्षण देखिएमा रेबिज विरुद्धको खोप लगाउन, स्वस्थ मासु सेवन गर्न, मरेको वा मर्न लागेको पशु काटेर नखान नागरिकहरूलाई समुदाय स्तरमै पुगेर सचेत गराउनु पर्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

काभ्रेपलान्चोक जिल्लाको भुम्लु, महाभारत, मण्डनदेउपुर, रोशी गाउँपालिकामा यो वर्ष रेविजले महामारीको रुप लिएको छ । समयमै नागरिकहरूलाई त्यस विरुद्ध खोप लगाए पनि रेविजको जोखिमबाट मुक्त भई नसकेको उहाँले बताउनु भयो । सामुदायिक कुकुरहरू ८ हजारको हाराहारीमा रहेकाले सबै कुकुरहरूलाई खोप लगाउनु पर्ने भए पनि प्रभावकारी रूपमा कार्य नभएको उहाँले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठले हरेक होटलहरुले स्वास्थ्यको मापदण्ड पुरा गर्ने र त्यसका लागि फोकल पर्सनका रूपमा सुपरभाइजर तथा स्वास्थ्यकर्मी समेत राख्ने बताउनु भयो । क्षेत्रीय होटल व्यवसायी संघका प्रल्हाद प्याकुरेलले हरेक होटलले स्वस्थ परिकार तथा स्वस्थ हस्पिटालिटी दिने कार्य योजना तयार गरिसकेको बताउनु भयो ।

धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले धुलिखेल स्वस्थ सहरका रूपमा अघि बढेकाले यहाँ उत्पादन हुने सामाग्री तथा प्रयोग गरिने खाद्यान्न गुणस्तर बनाउन सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । समुदायमा महामारी फैलन नदिन विद्यालय तहमा रहेका ५४ जना विद्यालय नर्स मार्फत विद्यार्थी तथा समुदायमा जनचेतना फैलाउने प्रयास गरिएको छ ।