भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्दै संसदमा हंगामा

नेपाल प्रहरीलाई जानकारी नभएको प्रहरी प्रवक्ताको भनाइ



काठमाडौंं । स्वतन्त्र पञ्जाव अर्थात खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पसेको आशंका गर्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको विषयले अहिले संसद्मा चर्को बहस शुरू भएको छ ।

भारतीय सुरक्षा निकायका व्यक्तिहरू सादा पोशाकमा विभिन्न नाका भएर नेपाल प्रवेश गरेका छन् । एउटा टोली दार्चुलाबाट नेपाल प्रवेश गरेको छ भने अर्को टोली बैतडी हँुदै नेपाल आए पनि उनीहरूले नेपालका कुनै पनि सरकारी निकायलाई जानकारी गराएको छैन ।

छुट्टाछुट्टै समूह समूह बनाएर नेपाल आएका भारतीय सुरक्षा निकायको टोली कञ्चनपुरको वनवासा, बाँकेको नेपालगन्ज, कपिलवस्तुको सुनौली र पर्साको रक्सौल नाकाबाट नेपाल प्रवेश गरेको जानकारी पाएको बताउँदै गृहमन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘तर उनीहरू कुन उद्देश्यले नेपाल आए भन्ने जानकारीमा आएको छैन ।’

भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको विषयमा जानकारी दिन संसद् बैठकमा माग गरिएको छ । सोमबारको संघीय संसद्को बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतीय सुरक्षाकर्मी खुलेआम नेपाल प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग्नुभएको छ । उहाँले नेपाली सुरक्षा निकाय चनाखो भएर पृथकतावादी सिंहको बारेमा जानकारी लिइरहेको बेला भारतीय सुरक्षाकर्मी अनुमति नै नलिएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै त्यसबारे जानकारी दिन सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘कोही अपराधी नेपाल आएको रहेछ भने नेपाली सुरक्षाकर्मीलाई सुचना दिनु पर्नेमा धमाधम भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नुले नेपालको सावभौमसत्तामाथि नै आघात पुगेको छ ।’

यद्यपि, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले भने भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको जानकारी आफूसँग नभएको बताउनुभयो । उहाँले भारतीय पृथकतावादी नेता सिंह नेपाल प्रवेश गरेको भन्नेबारे पनि कुनै जानकारी नभएको दावी गर्दै भन्नुभयो– ‘हाम्रा संयन्त्रले सिंह नेपाल प्रवेश गरेको कुनै सुराक पाएको छैन ।’

भारतले पृथकतावादी नेता सिंह नेपालमा लुकेर बसेको दाबी गरेको छ । सिंह बाँके, दाङ, बैतडी, बाजुरा लगायतका जिल्लामा लुकेर बसेको हुनसक्ने दाबी गर्दै आएको छ । दुई साताअघि उत्तराखण्ड हँुदै सिंह नेपाल प्रवेश गरेको दाबी गर्दै नेपालस्थित भारतीय दूतावासले सिंहको खोजीका लागि नेपाल सरकारलाई पत्र लेखेको थियो । साथसाथै भारतीय राजदुतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका सरकारी अधिकारीसँग सिंहको खोजीका लागि आग्रह पनि गर्नुभएको थियो । त्यसपछि सरकारले सुरक्षा निकायलाई सिंहको खोजीका लागि टोली परिचालन गर्न निर्देशन दिएपछि राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले छुट्टाछुट्टै टोली बनाएर खोजी गरेको भए पनि उनी नेपाल प्रवेश गरेको कुनै संकेत फेला पार्न सकेन । तर, सिंहको खोजीमा नेपाल सरकारले कुनै सहयोग नगरेको भन्दै भारतले नेपाल सरकारमाथि प्रश्न उठाएको छ ।

सिंह खोज अभियानमा संलग्न रहेका एक सुरक्षा अधिकारीले नेपाल समाचारपत्रसँग भने –‘सिंह नेपाल प्रवेश गरेको कु्नै सुराक हामीले पाएका छैनौं। भारतीय सुरक्षा निकायले भने हामीलाई दबाब दिइरहेको छ ।’

शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने अभियानमा रहेका सिंहलाई पक्राउ गर्ने भारतमा खोजी अभियान गरेपछि सिंह भूमिगत भएका छन् ।

भारतले सिंह नेपाली भूमि प्रयोग गरी तेस्रो मुलुक जानसक्ने भन्दै यात्रा अनुमति नदिनपनि नेपाललाई आग्रह गरेको छ । सिंहले नक्कली राहदानीसमेत प्रयोग गर्न सक्ने भन्दैसिंहको बारेमा जानकारी लिन पनि नेपाललाई भारतले पटकपटक आग्रह गरिसकेको छ ।

भारतको आग्रहपछि सरकारले नेपाली भूमि भएर विश्वका विभिन्न मुलुकमा उडान भर्दै आएका विमान कम्पनी र नेपालका होटलहरूलाई सिंहको हुलिया सहितको विवरण उपलब्ध गराएको छ ।

२९ वर्षका सिंहको अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका भारतीय नागरिकले समर्थन गर्दै ती देशमा रहेका भारतीय दूतावासमा खालिस्तानी झण्डा फहराउने कामसमेत गरेका छन् । विदेशमा रहेका भारतीय नागरिकले नै सिंहको समर्थन गर्न थालेपछि भारत सरकारले सिंहको पक्राउकालागि तीव्र अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्