प्रमुख प्रशासकीय अधिकृतको सरुवामा मोलमोलाइको आरोप

0
Shares

–‘गंैडा सरुवा’मा बढी आर्थिक चलखेल
–सरुवा हल्लाले कार्यस्थलमा रहेका अधिकृतहरू आतंकित
–विचौलियामार्फत सरुवाको सन्देश
–३ देखि ५ लाख रुपियाँ मागेको आरोप
–सरुवा हल्लासँगै थमौती गराउन केही अधिकृतहरूकाठमाडौंमा
–सरुवा मापदण्ड नबनाउँदा विकृति मौलाएको विज्ञको आरोप

काठमाडौं । विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा मन्त्रीको सचिवालयबाट मोलमोलाइ हुने गरेको आरोप लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयबाट भन्दै फोन गर्ने र मोलमोलाइ गर्ने गरिएको आरोप पीडित प्रमुख प्रशासकीय अधिकृतले लगाएका छन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको धमाधम सरुवा गरिरहेको छ । सरुवाको क्रममा स्थानीय तहको अवस्था हेरेर रकम माग्ने गरिएको दाबी केही कर्मचारीले गरेका छन् ।

कर्मचारीका अनुसार स्थानीय तहको अवस्था हेरेर ३ देखि ५ लाख रुपियाँसम्म माग्ने गरिएको छ । स्रोतका अनुसार ‘गंैडा सरुवा’मा बढी आर्थिक चलखेल हुने गरेको पाइएको छ । निजामती क्षेत्रमा गैडा सरुवा भन्नाले आकर्षकबाट आकर्षक निकायमा नै हुने सरुवालाई मानिन्छ । जस्तो काठमाडौंबाट काठमाडौंकै स्थानीय तहमा र तराईका एक आकर्षक स्थानीय तहबाट तराइकै अर्को आकर्षक स्थानीय तहमा हुने सरुवालाई गंैडा सरुवाको रूपमा लिने गरिन्छ ।

बढी सोर्सफोर्स र भनसुन गर्न सक्ने तथा पैसासमेत खर्च गर्न सक्ने कर्मचारीहरूको गैंडा सरुवा हुने गरेको बताइन्छ ।

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेटिएका एक प्रमुख प्रशासकीय अधिकृतले पनि आकर्षक ठाउँमा सरुवा हुने भए केही रकम दिनुपर्ने भन्दै आफूलाई सर्त राखिएको बताए । उनी अहिले काम गरेको भन्दा अझै केही आकर्षक मानिएको स्थानीय तहमा जानका लागि दौडधूपमा थिए तर रकम माग भएपछि उनी पुनः आफ्नो पुरानै नगरपालिकामा फर्किएका छन् । ‘पैसा दिने कुरै भएन, त्यसैले मेरो सरुवा भएन, पुरानै ठाउँमा फर्किएर काम गरिरहेको छु ।’ ती प्रशासकीय अधिकृतले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने सचिवालयबाट सरुवामा कुनै प्रकारको मोलमोलाइ नभएको दाबी गर्नुभयो । मन्त्री मोदीले आकर्षक ठाउँमा गएर कमाउ धन्दा गर्न नपाउने कर्मचारीहरूले आफ्नो् सचिवालयका विरुद्ध अफवाह फैलाएको जिकिर गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो –‘लामो समयसम्म मोजमोस्ती गरिरहेकाहरूले आकर्षक ठाउँमा जान र रहन नपाउँदा हाम्रो बारेमा गलत हल्ला फिँजाएका हुन् ।’ उहाँले सचिवालयका कुनै कर्मचारीले कोसँग के बार्गेनिङ गरे भन्ने बारेमा प्रमाण ल्याए आफू कारबाही गर्न तयार रहेको बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै एक अधिकृतका अनुसार केही विशेष प्रकृतिका सरुवामा रकमको लेनदेन हुने विषय ‘ओपनसेक्रेट’ जस्तै हो । ‘यो उहिल्यै देखिको परम्परा र बेथिति हो, अहिले सरुवामा देखिएको लेनदेन त्यसैको एउटा श्रृंखला हो ।’ ती अधिकृतले नेपाल सामाचारपत्रसँग भने ।

कार्यस्थलमा रहेका र समयावधि पुग्न लागेका प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न बिचौलियामार्फत समेत सरुवा हुन सक्ने सन्देश पठाउने र थमौतीका लागि केही रकम आवश्यक पर्ने भन्दै रकम माग गर्न थालिएपछि कतिपय प्रमुख प्रशासकीय अधिकृतहरूले आतंकित महसुस गरिरहेको बताइन्छ ।

विगतमा निकै आकर्षक मानिएका विभागको महानिर्देशक बन्नका लागि ब्रिफकेसकै प्रयोग हुने गरेका तथ्यहरू प्नि सार्वजनिक हुने गरेका थिए ।

आकर्षक ठाउँमा जान नपाउनेले हल्ला फिँजाए : मन्त्री मोदी

आकर्षक ठाउँमा सरुवा भएर जान चाहनेको योजना पुरा नभएपछि सचिवालयबाट मोलमोलाइ भएको हल्ला फिँजाएका हुन् । यसमा कुनै सत्यता छैन । कसैले मोलमोलाइ गरेको प्रमाण ल्याएमा कडा कारबाही गर्छु ।

‘प्राविधिक र राजस्व क्षेत्रमा ब्रिफकेसको चर्चा’ 

प्राविधिक क्षेत्र विशेषगरी सडक, भौतिक, शहरी विकास, ऊर्जा लगायतका निकायमा विभागीय प्रमुखको सरुवा हँुदा ब्रिफकेस प्रथा हाबी हुने गरेको प्रशासनका जानकारहरूको दाबी छ ।

प्रशासनविद् तथा पूर्वसचिव श्यामप्रसाद मैनालीले राजस्व, प्रशासन र प्राविधिक क्षेत्रमा सरुवा हुँदा ब्रिफकेस प्रथा अहिले पनि चल्ने गरेको बताउनुभयो । मैनालीले मापदण्ड र प्रणालीका आधारमा सरुवा हुन नसक्दा आर्थिक चलखेल हुने क्रम जारी रहेको टिप्पणी गर्दै भन्नुभयो– ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले सरुवामा देखिएको आर्थिक चलखेल त्यसैको परिणाम हो ।’ उहाँले प्राविधिक र राजस्व क्षेत्रमा हुने ठुलाठुला सरुवामा पनि करोडौं रुपियाँको खेल हुने गरेको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आकर्षक निकायमा सरुवा हुन ब्रिफकेसमा नै रकम दिने गरिन्छ, यो प्रशासन भित्रको विकृतिको चरम रूप हो ।’