विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न भन्दै  पर्यटन राज्यमन्त्री समक्ष व्यवसायीको ७ बुँदे माग

0
Shares

बुटवल।

रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीले सोमबार पर्यटन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले मन्त्री श्रीपालिलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न ७ बुँदे माग पनि  राखेको छ ।

भारतसँग स्वीकृति लिनुपर्ने अवस्थामा माथिल्लो निकायबाट तत्काल पहल गर्नुपर्ने, भारतले सीमा नजिकैको नेपालको विमानस्थलका लागि आफ्नो आकाश प्रयोग गरी आईएलएस सञ्चालनमा सजिलै स्वीकृति लिन तत्काल नेपालको उच्च निकायबाट पहल गर्नुपर्ने, निर्माण सम्पन्न भएको महिनौँ बित्दा पनि रुट फाईन्डआउट गरी भारतसँग अनुमति लिनुपर्ने र भारतीय दूतावासबाट लिनुपर्ने नो अब्जेक्सन सर्टिफिकेट तत्काल प्राप्त गर्न पहल गर्नुपर्ने संगठनले माग गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने भिसा, स्वास्थ्य परीक्षण, बीमा स्वीकृति, कोभिड–१९ विरुद्धको खोप, मेनपावर कम्पनीका शाखासमेतको व्यवस्था विमानस्थलमा हुनुपर्ने, नेपालका एअरलायन्सहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नको लागि नेपाल सरकारले तत्काल निर्देशन दिनुपर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने संगठनको माग छ ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले हप्तामा तीन दिन मात्र उडान गर्न विमानस्थल निर्माण भएको भन्ने उद्योगी व्यवसायीको प्रश्न तथा गुनासो रहेको बताउनु भयो । विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि दबाब दिने उद्देश्यले अन्तत्र्रिmया कार्यक्रम, विमानस्थल गेट अगाडी धर्ना तथा विरोध कार्यक्रम गरिसकिएको र मागहरु पूरा नभए तेस्रो चरणको आन्दोलन गर्न बाध्य हुने बताउनु भयो ।

झण्डै ४३ अर्ब लागतमा निर्माण गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घघाटन भएको १ वर्ष पुग्नै लाग्दा पनि गति लिन सकेको छैन । ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री श्रीपालिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन हुनुपर्ने निजी क्षेत्रले चिन्ता र चासो व्यक्तबारे मन्त्रीपरिषद् बैठकमा कुरा राख्ने र मन्त्रालयबाट आवश्यक पहल गर्ने बताउनु भयो ।