जुरोपानी सबस्टेसन सञ्चालनमा

0
Shares

काठमाडौँ ।

झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो ।

सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत उपभोक्ताहरुले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने छ ।

६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरु निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ ।

सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ । पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइने छ ।

हाल गोरादह, जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो । ११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो ।