शीतल निवास र सिंहदरबारको फोहोर उठेन, केन्द्रीय सरकार मौन

0
Shares

–भीआईपी सडक नबढार्न निजी क्षेत्रलाई कामपाको दबाब
–मेयरका पूर्वाधार सल्लाहकार : फोहोर उठाउँदैनौं
–गृह मन्त्रालय : राजनीतिक माग हो, समाधान गर्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने संस्थालाई ‘भीआईपी’ सडक सफा नगर्न र तीन निकायको मूल सडकमै फोहोर थुपार्न दबाब दिएको छ ।

कामपाका मेयर बालेन्द्र साहका सचिवालय र नगर प्रहरीका अधिकारीले सरकारसँग बदला लिन र कामपाको माग पूरा गराउन सो दबाब दिएको सरोकारवालाको भनाइ छ । सरकारले त्रिभुवन विमानस्थल, नारायणहिटी दरबार हुँदै बालुवाटारसम्मको सडकलाई भीआईपी नामकरण गरेको छ ।

कामपाको वातावरण विभागले फोहोर व्यवस्थापन र सडक बढार्न नसकेपछि निजी क्षेत्रलाई जिम्मेवारी दिँदै आएको सिंहदरबारको दक्षिणी गेट, शीतल निवास र बालुवाटारको सडकमै फोहोर थुपार्न मेयर सचिवालयले दबाब दिएको छ । तर, केन्द्रीय सरकारले भने यसबारेमा आधिकारिक रूपमा मुख खोलेको छैन ।

फोहोर संकलन गर्न नदिएपछि निजी क्षेत्रले हिजो आइतबार सिंहदरबारभित्रको फोहोर संकलन गरी मुख्यसचिव कार्यालय नजिकको पुतली बगंैचामा थुपारेको थियो ।

मेयरका पूर्वाधारविज्ञ सुनील लम्सालले सरकारले महानगरले राखेका मागको विषयमा कुनै पनि सुनुवाइ नगरेपछि राष्ट्रपति निवास, प्रधानमन्त्री कार्यालय र सिंहदबारभित्रको फोहोर संकलन र ढुवानी बन्द गरेको पुष्टि गर्दै भन्नुभयो– ‘हामीले महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि नदी किनारको सुकुम्बासी बस्ती खाली गर्न सहयोग गर्नुपर्नेसम्मको माग राखेका थियौं । उक्त माग पूरा गर्ने विषयमा चासो नदेखाएपछि फोहोर संकलन र ढुवानी बन्द गरेका हौं ।’ उहाँले कामपाले राखेको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने बरु दबाबका थप कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । यसैबीच कामपाले कामपाको सहमतिबेगर बञ्चरेडाँडामा फोहोर बिसर्जन गरे तत्काल कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नहुने कानुनी व्यवस्थाको धज्जी उडाउँदै मेयर साहले फोहोर संकलनमा रोक लगाएपछि फोहोर व्यवस्थापन गर्ने निजी कम्पनीलाई दबाब परेको छ । मेयर साहका कारण आफूहरू तनावमा परेको बताउँदै परिवर्तन नेपालका प्रमुख व्यवस्थापक मित्रप्रसाद घिमिरेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सिंहदरबारले फोहोर संकलन र ढुवानी गर भन्छ, कामपाले फोहोर संकलन गरे कारबाही गर्ने चेतावनी दिइरहेको छ ।’

आइतबार सिंहदरबारस्थित प्रहरी वृत्तले निजी क्षेत्रलाई फोहोर संकलन र ढुवानी गर्न आग्रह गरेको थियो । प्रहरीले सुरक्षाकर्मी परिचालन गरेर भए पनि फोहोर ढुवानी गर्ने तयारी गरे पनि कामपाले त्यसलाई असफल बनाउने रणनीति लिएको छ ।

मेयर साहको फोहोर रोक्ने कामको विरुद्धमा कुनै पनि सरकारी निकायले बोलेको छैन । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र वस्नेतले राजनीतिक विषय भएकोले तत्कालै ‘एक्सन’ लिने नसकिने जिकिर गर्दै भन्नुभयो– ‘भोलिको दिनमा महानगरले कस्तो आन्दोलन गर्नेछ, सोहीअनुसार सरकारले थप कदम चाल्नेछ ।’

कामपाले सिंहदरबार, विमानस्थल, नारायणहिटी, दरबारमार्ग, जमल, कान्तिपथ, बालुवाटार, पानीपोखरी र महाराजगन्ज सडक नबढार्न निजी क्षेत्रलाई दबाब दिएको छ । निजी क्षेत्रले यस विषयमा कुनै निर्णय गरेको छैन । निजी क्षेत्रले सबै ‘भीआईपी’ क्षेत्र र भीआईपीको कार्यालय र निवासको फोहोर व्यवस्थापन गरिरहेको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले यो विषयमा छलफल जारी रहेको बताउँदै भन्नुभयो– ‘हामी छलफलकै क्रममा छौं, के निर्णय लिने भन्ने विषयमा पछि जानकारी दिउँला ।’