कांग्रेसको एकल सत्तारोहण

0
Shares

हेटौंडा ।

सत्ताको सहयात्री मानिएको एकीकृत समाजवादीको ढिलाइका कारण नेपाली कांग्रेस एक्लै आइतबार माओवादीसँगै सत्ताको सहयात्री बनेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले आइतबार साँझ तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

पुस २५ मा मुख्यमन्त्री नियुक्त भएर गठबन्धन टुटफुटका कारण दुई पटक विश्वासको मत लिन बाध्य मुख्यमन्त्री जम्कट्टेलले आइतबार २ मन्त्री नियुक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तीर्थ लामा मन्त्री बन्नु भएको छ । मन्त्रीद्वयले प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सरकारमा कांग्रेसको नेतृत्व गर्दै बहादुरसिं आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ खानेपानी, सिचाईं तथा ऊर्जामन्त्री बन्नुभएको छ । बहादुरसिंले यसअघि संसद्को ठूलो दलका रुपमा रहेको भन्दै मुख्यमन्त्री दाबी गर्नुभएको थियो ।

कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएपछि दलका नेता लामालाई नेता व्यवस्थापनमा चुनौती सामना गर्दै उहाँले पहिलो चरणमा आफूसहित २ जनामात्र सरकारमा जाने निर्णय गर्नुभएको थियो । भागबण्डाअनुसार कांग्रेसबाट थप ३ जना मन्त्री हुनेछन् ।

११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने भएका छन् । कांग्रेसले यसअघि ६ वटा मन्त्रालयमा अडान नछाडेका कारण सरकार विस्तार हुन सकेको थिएन ।

मुख्यमन्त्रीमा जम्कट्टेल पुस २५ मा नेकपा एमाले र राप्रपाको समर्थनमा नियुक्त हुनुभएको थियो । उहाँले पहिलोपटक पुस २५ मा २ जना, दोस्रो पटक माघ ११ मा ८ जनालाई मन्त्री बनाएर सरकार विस्तार गरे पनि केन्द्रीय गठबन्धन फुटेर नया“ सत्ता समीकरण बनेस“गै राप्रपाले फागुन १३ र एमालेले चैत १० मा राजीनामा दिएको थियो ।

उहाँले पुस २६ गते ३ सदस्यीय मन्त्रिपरिषद् पुर्नगठन गर्नुभएको थियो । जसमा आर्थिक मामिला तथा योजना मन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री राप्रपाका उद्धव थापा नियुक्त हुनुभएको थियो ।

माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री जम्कट्टेलले एमाले र राप्रपाका गरी थप ३ जना मन्त्री नियुक्त गर्नुभएको थियो । केन्द्र सरकारमा राजनीतिक समीकरण बदिलिएसँगै फागुन १३ गते वागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएकै दिन राप्रपाका तर्फबाट ३ मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले चैत १० गते पुन: विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो । मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक माघ ३ मा र दोस्रो पटक चैत १० मा विश्वासको मत लिनुपरेको थियो ।

वागमतीमा २ नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद्मा ६ जना पुगेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन ५ थप मन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।
वागमती प्रदेशको रिक्त मन्त्रालयमा एकीकृत समाजवादीबाट २ जना मन्त्री बन्ने बताइएको छ । सरकारमा सहभागी हुने एकीकृत समाजवादीले २ मन्त्रालयको दाबी छाडेको भने छैन ।

जसअनुसार एकीकृत समाजवादीबाट मन्त्री बन्नेमा ३ जनाको नाम चर्चामा छ । २ जना मन्त्री बन्ने भए पनि ३ जनामध्ये २ जनाको नाम सिफारिस गरिने तयारीमा रहेको नेकपा (एस) निकट एक सांसद्ले बताए ।

एकीकृत समाजवादीले २ मन्त्रालय दाबी गरिरहँदा पार्टीबाट कृष्णप्रसाद शर्माखनाल, लक्ष्मण लम्साल, बसन्तप्रसाद मानन्धर, रमा आलेमगर, राजेन्द्रमान श्रेष्ठलगायतले मन्त्रीका लागि लबिङमा हुनुहुन्छ । यद्यपि, नेकपा (एस) बाट मन्त्री बन्नेमा आले, श्रेष्ठ र शर्माखनालको नाम चर्चामा छ ।