चीन र नेपालको सहयोगलाई पारम्परिक सम्बन्ध बलियो बनाउने उद्घोष

14
Shares

ललितपुर। नेपालका लागि चिनियाँ दूतावासका उपप्रमुख वा वाङ्गसीनले नेपाल र चीनको सात वटै नाका खुलाएर दुई देशबीचको पारम्परिक सम्बन्ध र सहयोगलाई थप निरन्तरता दिने जनस्तरमा उद्घोष गर्नुभएको छ ।

अरनिको समाजले महालक्ष्मी उद्योग वाणिज्य संघसंग मिलेर ललितपुरको लुभूमा सञ्चालन गरेको बृहत निशुल्क स्वास्थ्य शिविरको शनिबार उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो। उपप्रमुख वाङ्गसीनले अहिले सात वटा नाका मध्ये तातोपानी, केरुङ्ग नाका खोलिएरसंगै दुई देशबीचको व्यापार, पर्यटन उद्योगमा सरकारात्मक परिर्वतन ल्याउने विश्वास व्यक्त गर्नुभयो। ‘यसले नेपाल र चीनबीचको सयौं वर्षदेखिको सम्बन्धमा थप उत्साह दिन उर्जाको काम गर्ने छ। नेपाल र चीनबीचको सम्बन्ध सधैं सुमधुर रहने छ ।’ उहाँले भन्नुभयो। उपप्रमुख वाङ्गसीन सडकको स्तरोन्निति कार्य सकिएपछि नेपाल र चीन जोड्ने अरु नाकाहरु पनि क्रमशः खोलिने बताउनुभयो।

चीनले गरिबी निवारण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा अभूतपूर्व प्रगति गरेको दाबी गर्दै उपप्रमुख वाङ्गसीनले यसको लाभ नेपाल र नेपालीलाई दिन चीन सधैं तयार रहेको बताउनुभयो। नेपाललाई दक्ष जनशक्ति निर्माण र शिक्षाको विकासको लागि चीनले विभिन्न स्तरमा काम गर्दै आएको जनाउँदै उहाँले चीनमा पढेर आएका नेपालका चिकित्सकसहित विविध पेशाकर्मीको टोली सम्मिलित अरनिको समाजले स्वास्थ्य क्षेत्रसंगै लोककल्याणकारी कार्यमा उदाहरणीय काम गर्दै आएको बताउनुभयो।

चीन सरकारले स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा काम गर्दा जनतालाई सधैं केन्द्रविन्दुमा राखेर काम गर्दै आएको उल्लेख गर्दै उपप्रमुख वाङ्गसीनले चीनले पनि नेपालमा त्यस किसिमको कार्यलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महानकलाकार अरनिकोको समयदेखि नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध कायम भएको उल्लेख गर्दै यसलाई अझ प्रगाढ बनाउन चिनियाँ जनताको भूमिका रचनात्मक हुने पनि उहाँको भनाई थियो।

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ शिविरको उद्घाटन गर्दै स्वास्थ्य, शिक्षा मूलतः राज्यको दायित्व रहेपनि निजी क्षेत्र, र कुटनीतिक नियोगले यसमा सघाउँदै आएकोमा सराहना व्यक्त गर्नुभयो।समारोहमा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले स्वास्थ्य शिविरमा चिनियाँ दूतावास र अधिकारीको सहयोगको निरन्तरताको अपेक्षा गर्दै सहकार्यको लागि नगरपालिका तयार रहेको बताउनुभयो।

सो अवसरमा अरनिको समाजका अध्यक्ष डा। बालकृष्ण श्रेष्ठले चीनले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिको लाभ हिस्सा नेपाल र नेपालीले पाउनुपर्ने मान्यताले काम गर्दै आएको बताउनुभयो।महालक्ष्मी उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय श्रेष्ठले स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य, नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न अरनिको समाजसंग सहकार्य गरी स्वास्थ्य शिविरहरु नियमित रुपमा सञ्चालन गर्दै आएको बताउनुभयो।

शिविरमा बालरोग, नाक घाँटी, स्त्री रोग, हाडजोर्नी, पेट तथा कलेजो , आँखा, दाँत, नशा सम्बन्धी लगायतको परीक्षण गरिएको थियो। त्यसबाट १ हजार भन्दा बढी मानिसहरु लाभान्वित भएको अरनिको समाजका कोषाध्यक्ष समेत रहेका डा। सुशील प्रजापतिले जानकारी दिनुभयो।