कांग्रेसका विद्रोही नेताहरू पुरानै घर फर्किए

0
Shares

काठमाडौं । गत स्थानीय तहको निर्वाचनदेखि मंसिर ४ को आम निर्वाचमा कांग्रेसले गरेको चुनावी गठबन्धनको खिलापमा विद्रोह गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालगायत चितवन कांग्रेसका विद्रोही नेताहरू पार्टीमा फर्किएका छन् ।

यसअघि टिकट नपाएपछि विद्रोहमा उत्रिएका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा कांग्रेसका पक्षमा उभिनु भएको हो ।

गत निर्वाचनमा गठबन्धनको विरोध गर्दै भरतपुर महानगरपालिकाको मेयरको उमेदवार बनेका कोइरालालाई पार्टीका नेताहरूले माओवादीसँगको गठबन्धनमा प्रचण्ड पुत्री रेणु दाहाललाई सहयोग गर्नेगरी उम्मेदवार फिर्ता गराएका थिए । स्थानीय तहको निर्वाचनमा मेयर कांग्रेसले नै पाउनुपर्ने दाबी गर्दै आएका कोइरालाले शीर्ष नेताहरूको अनुरोधलाई स्वीकार्दै चित्त दुखाएरै उम्मेदवारी फिर्ता गर्नुभएको थियो । मङ्सिर ४ मा भएको आम निर्वाचनमा समेत पार्टी केन्द्रले चुनावी गठबन्धन गरेर टिकट नै भागबण्डामा बाँडेर चितवन– ३ मा पुनः माओवादीलाई दिने निर्णय गरेपछि रुष्ट कोइरालाले नेकपा एमालेको समर्थनमा चितवन क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि बागी उम्मेदवारी दिएपछि पार्टीले कोइरालालगायत नेताहरूलाई कारबाही गरेको थियो । तर, उपनिर्वाचनको संघारमा कारबाही फुकुवा गरेर सबै नेताहरूलाई चुनावमा परिचालन गर्ने गणनीतिका साथ कांग्रेस अघि बढेको नेताहरूले बताएका छन् ।

स्कुले जीवनमै २०४२ सालमा राजनैतिक गतिविधिमा लागेर २०५३ सालमा नारायणगढको बालकुमारी कलेजको स्ववियु सभापति बन्नुभएका कोइराला २०५६ देखि २०५८ सालसम्म नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०५८ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समितिको सदस्य र प्रवक्ता, १४ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित कोइराला चितवनमा प्रभावशाली मानिनुहुन्छ ।

चितवन –२ मा हुन लागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजबादी पार्टीलगायत आठ दलीय सत्ता गठबन्धनबाट कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । उक्त क्षेत्रबाट पुनः रास्वपाका रवि लामिछानेले उम्मेदवारी दिनुभएको छ ।

आफूहरू कांग्रेस उम्मेदवारमा जितनारायण श्रेष्ठकै पक्षमा रहेको जनाउदै वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिन संयुक्त रूपमा अपिल जारी गरेको जिकिर गर्दै श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो –‘कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको छ । त्यसैले हामी हाम्रो भुगोल, समग्र देश र जनताको समस्या समाधान गर्न फेरि पनि कांग्रेसको विकल्प नदेखेर आफ्नै पार्टीमा फर्किएका हौं । जीतनारायणजी लाई जिताउँदा मात्रै चितवनबासीले समेत न्याय पाउनेछन् ।’

चितवनका आम नागरिकको न्याय, विकास र समृद्धिका लागि वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट कांग्रेसका उम्मेदवार श्रेष्ठलाई विजयी गराउन विद्रोही नेताहरूले आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ–‘नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको छ । मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिन सक्छ भन्ने तथ्य विगतदेखि वर्तमान सम्मको इतिहासले पुष्टि गरिसकेको छ ।’

कांग्रेसले यसअघिका निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही फुकुवा गर्दै ०७९ को निर्वाचनमा कारबाही परेकाहरूलाई उपनिर्वाचनको भूमिकालाई मध्यनजर गरेर निर्णय लिने निर्णय गरेको थियो । पार्टीको निर्णयपछि चितवनमा पूर्वसभापति विकास कोइरालालगायतको पनि कारबाही फुकुवा भएको छ । मुलुकका गम्भीर समस्याहरूको समाधानका लागि कांग्रेसमा समग्र एकताबद्ध हुनुको विकल्प नभेटेको महासमिति सदस्य मिना खरेलले बताउनुभयो । कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको छ’– उहाँले भन्नुभयो ।