समिट अपाटमेन्ट आसपासको जमिन भासिँदा स्थानीय भागाभाग

0
Shares

ललितपुर । ललितपुरको बखुन्डोलमा निर्माणधीन समिट अपाटमेन्ट बनाउने क्रममा स्थानीयको घर र जमिन भासिएपछि स्थानीय भागाभाग भएको छ ।

अपाटमेन्ट बन्दै गरेको ठाउँ वरिपरिका स्थानीयका घरहरू भासिनुका साथै जमिन चिराचिरा परेपछि शुक्रबार राति सो क्षेत्रका स्थानीयको भागाभाग भएको थियो ।

के कारण जमिन भासियो भन्ने जानकारी नआएको स्थानीय प्रहरीले जानकारी दिएको छ । घर र जमिन भासिएपछि स्थानीय भागदौड गर्दा १० जना घाइते भएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । अपाटमेन्ट वरिपरिका घरहरू एकतला भन्दा बढी भासिएको स्थानीय सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयले दाबी गरेका छन् । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन शुरू गरेपछि घर भासिन पुगेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

पीडित स्थानीयले आफूहरूको बास बस्ने ठाउँ नभएकाले तत्काल बासको व्यवस्था गरिदिन आग्रह गरेका छन् । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

उक्त घटना सार्वजनिक भएपछि सांसद तोसिमा कार्कीले सो क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले पीडित स्थानीयलाई सुरक्षित क्षेत्रमा सार्ने आश्वासन दिनुभएको छ ।

उहाँले अपाटमेन्टका कारण स्थानीयले क्षति व्यहोर्नु परेकाले काम रोक्न समेत आग्रह गर्नुभएको थियो । अपाटमेन्ट निर्माणको क्रममा स्थानीय तहबाट अनुमति नलिएको भए कारबाहीको दायरामा ल्याइने आश्वासन पीडितहरूलाई दिनुभएको थियो ।