मेयर साहको आक्रोश : शीतल निवास र सिंहदरबारको फोहोर उठाउन बन्द, फोहोर उठाए कारबाही गर्ने धम्की

0
Shares

काठमाडौं । वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गर्नुभएको छ । मेयर साहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिनुभएको हो ।

मेयरको निर्देशनअनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आज आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएको छ । केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएको हो ।

शुक्रबार तीनकुने गौरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको कामपालाई गृह प्रशासनले पूर्ण असहयोग गरेको थियो । त्यसैको बदला लिन शनिबार बिहानै मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा ट्विट गर्दै देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्नुभएको थियो ।

शनिबार सिंहदरबारमा फोहोर संकलन गर्न पुगेको नेप्से म्याकको सवारीलाई महानगरको प्रहरीले नियन्त्रणमा लिएपछि नेप्से म्याकले शनिबारबाटै फोहोर उठाएको छैन । नेप्सेम्याकका सञ्चालक एवं फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले कामपा वातावरण व्यवस्थापन विभागले पाँच निकायबाट फोहोर संकलन नगर्न अनुरोध गरेपछि हिजैबाट बन्द गरेको जानकारी दिनुभयो । यद्यपि, उहाँले फोहोर संकलनमा रोक लगाएकोमा असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले अत्यावश्यक सेवाको रूपमा घोषणा गरेको फोहोर संकलन र ढुवानी कार्यमा अवरोध गर्नु दुःखको विषय हो । वार्ताबाट समस्या समाधान गर्नुपर्ने अवस्थामा फोहोर रोक्नु गलत हो । अन्य थुप्रै विकल्प छन्, फोहोर रोक्दैमा समस्या समाधान होलाजस्तो लाग्दैन ।’

मेयर साहले सामाजिक सञ्चालनमा आपत्तिजनक अभिव्यक्ति दिएर फोहोर रोक लगाएपछि उहाँको तीव्र आलोचना भएको छ । उहाँले शनिबार दिउँसो फेरि अर्को स्ट्याटस लेख्दै ट्विट गर्नुभएको छ– ‘साच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ ।

मेयर साहले दुई साता अघिदेखि नै फोहोर रोक्ने तयारी गर्नुभएको थियो । तर, अन्तिमपटक शुक्रबार गृहमन्त्रालयसँग सुकुम्बासी बस्ती हटाउन सहयोेगको याचना गर्दा सहयोग नगरेपछि उहाँले फोहोर उठाउन रोक्नुभएको हो ।

यसअघि मङ्सिर दोस्रो साता काठमाडौं कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेको थियो । त्यसबेला नगरप्रहरी प्रमुख पाण्डेमाथि सांघातिक आक्रमण भएको थियो । सो क्षेत्रमा भएको झडपमा ३६ नगर प्रहरी घाइते भएका थिए । वैकल्पिक व्यवस्थापनबिनै सुकुम्बासी बस्ती उठाउन खोजेको भन्दै बालेनको उक्त कदमको चौतर्फी आलोचना भएको थियो ।

दिनभरको तनावपछि मेयर साहले सोही दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रम देउवाले सहयोग गर्ने वचन दिए पनि पुनः हटाउने प्रयास गर्दा सम्भव नभएपछि दोस्रो पटक पुस १३ गते तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई मेयर साहले पत्र लेख्नुभएको थियो । त्यसबेला पनि गृहमन्त्री लामिछानेले सहयोग नगरेपछि मेयर साहको आक्रोश झनै बढेको थियो ।

माघ १६ तेस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोगको आग्रह गर्नुभएको थियो । प्रम दाहालले अन्य दलसँग सल्लाहपछि मात्र निर्णय गर्ने आश्वासन दिनुभएको थियो ।

हालसम्म सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले कुनै चासो नलिएपछि शुक्रबार तीनकुनेको बस्ती हटाउन मेयर साह आफैं सुकम्बासी बस्ती पुग्नुभएको थियो । शुक्रबार सकुम्बासी बस्ती हटाउने तेस्रोपटकको प्रयास असफल भएपछि मेयर साहले सरकारसँग आक्रोस पोख्दै सामाजिक सञ्जालमा तीनवटा स्ट्याटस लेख्नुभएको हो ।

संघीय सरकारले आफूलाई बारम्बार असहयोग गरेको आरोप लगाउँदै आएका मेयर साहले सामाजिक सञ्जालमा नेपालको सरकार भारत र चीन सरकारले बनाउने गरेको आरोप लगाउनुभएको छ । उहाँले लेख्नुभएको छ– ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

यसैबीच शनिबार सिंहदरबारलगायत पाँच निकायबाट फोहोर नउठेपछि संघीय मामिला तथा स्थानीय विकासमन्त्री अमनलाल मोदीले मेयर साहलाई वार्ता गर्न बोलाउनुभएको थियो । स्रोतका अनुसार मेयर साहले प्रधानमन्त्रीभन्दा तल्लो तहका कोहीसँग पनि भेट नगर्ने बताएपछि प्रम दाहालसँगै भेट गराउने तयारी भइरहेको छ ।