आजबाट पाठ्यपुस्तक बिक्री शुरू



–पहिलो चरणमा हिमाली, दोस्रोमा पहाडी र अन्तिममा सुगममा
–१ करोड ४० लाख छपाइ सकियो, १० लाख बाँकी
–चैत मसान्तभित्र छपाइ सकिने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू गर्ने भएको छ । सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री शुरू गर्न लागेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुुर्गम र अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने बताएको छ । केन्द्रले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै दुर्गममा पहिलो, पहाडीमा दोस्रो र सुगम र तराईका जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक ढुवानी र बिक्री गर्न निर्देशन दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार आठवटै प्रदेश कार्यालयले १ हजार २ सय ६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गर्ने र वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याइसक्नेछ । उहाँले भर्ना अभियान शुरू भएका कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका ५ जिल्लामा सम्भवतः चैत मसान्तपछि सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्ने पनि बताउनुभयो ।

केन्द्रले कक्षा ६ देखि १० सम्म १ करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । केन्द्रलाई १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति दिएकोमा हालसम्म करिब ९६ प्रतिशत पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । बाँकी १० लाख थान पाठ्यपुस्तकको छपाइ चैत मसान्तसम्म सकिने प्रबन्ध सञ्चालक झाले बताउनुभयो । हालसम्म कक्षा ६ र ७ को २८–२८, ८ को कक्षा २४ र ९ र १० कक्षाको ३०–३० लाख थान पाठ्यपुस्तक छपाइ भइसकेको छ ।

केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, कास्की, बुटवल सुर्खेत र काठमाडौंस्थित मुख्यालयको बिक्री केन्द्रबाट बिक्री खुलाएको हो । प्रबन्ध सञ्चालक झाले हुम्ला, जुम्ला, मुगु, कालिकोट, बाजुरा, मनाङ, मुस्ताङ, डोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा चैत मसान्तभित्र सबै विद्यार्थीको हातहातमा पुगिसक्ने दाबी गर्दै भन्नुभयो– ‘दुर्गम जिल्लामा पाठ्यपुस्तक ढुवानी गर्न नेपालगञ्ज र धनगढी प्रादेशिक कार्यालयको गोदाममा पाठ्यपुस्तक पु¥याएसकेका छौं । केन्द्रले पाठ्यपुस्तक बिक्री गर्ने सूचना जारी गरेलगत्तै कास्की, नेपालगञ्ज र धनगढीमा बिक्रेताको घुइँचो लागिसकेको छ । ती प्रदेशका बिक्रेताले आजबाट पुस्तक ढुवानी र बिक्री गर्नेछन् ।’

केन्द्रका प्रबन्ध सञ्चालक झाले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार काम भइरहेको र अब एक हप्तामा सबै पाठ्यपुस्तक छपाइ पूरा हुने जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रको लागि निजी क्षेत्रलाई कक्षा १–५ को पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने जिम्मा दिइसकेको छ । निजी प्रकाशकले १ देखि ५ कक्षासम्म १ करोड २० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मा दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब ५ महिनाअघि सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी संख्याको आधारमा स्थानीय तहमा रकम निकासा गरिसकेको छ ।

पुस्तक बिक्री हुने तालिकाअनुसार आज सानोठिमीबाट पहिलो चरणमा दोलखा र रामेछापमा पुस्तक ढुवानी हुनेछ । भरतपुर प्रादेशिक कार्यालयले आज चितवनमा बिक्री खुला गर्नेछ । पुस्तक तथा स्टेसनरी व्यवसायी र प्रादेशिक कार्यालयबीच सहमति भएपछि बिक्री शुरू भएको हो ।

केन्द्रले ६ देखि १० कक्षासम्म प्रत्येक कक्षामा ५–५ लाख विद्यार्थी भएको अनुमान गरेको छ । सोही आधारमा बजेट विनियोजन भएको छ । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले शैक्षिकसत्र २०८० मा कक्षा १ देखि १० सम्म ३ अर्ब ४० करोड रुपियाँ बजेट स्थानीय तहमार्फत विद्यालयमा पुग्ने गरी विनियोजन भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्