खरानीको मोल



भनिन्छ, नेपाली आामा–साहित्य वेदबाट शुरु हुन्छ । नेपालका गाउँबस्तीमा आमाहरु भन्नुहुन्व्थ्यो, ‘वेदका फेदमा आमाहरुको सिञ्चन छ, योगदान छ । ‘अहम् रुद्रेभिर्वसुभिश्चरामि’ भन्ने आमाहरु वेदका स्रोतस्विनीहरु हुन् । त्यसै वेदका अनुसार महादेव त्याग, योग, आशुतोषिता र जनसेवाका आदर्श आदिदेव मानिन्छन् । कला, साहित्य, आयुर्वेद, धनुर्वेद र भाषा व्याकरणका आदिगुरु मानिन्छन् । विभिन्न पुराण अनुसार कान्तिपुरीको श्लेष्मान्तक वन, त्रिशूल गङ्गा, गोसाइँकुण्ड, हरद्वारको पौडी र उत्तरवाहिनी गङ्गामय काशी महादेवका विशेष प्रिय स्थानहरु मानिन्छन् । कैलास स्थायी बसोबास मानिन्छ भने आदिकैलास विशेष विश्रामस्थल मानिन्छ । । नियमित यात्राका क्रममा महादेव–पार्वती धेरैजसो रोकिने ठाउँ हाम्रै नेपालको विख्यात पर्वत लिम्पियाधुराको सेरोफेरो रहेको पाइन्छ । । पौराणिक समयमा हाम्रो पश्चिमी सीमाको पर्वत लिम्पियाधुराको नाम आदिकैलास थियो । लिम्पि पर्वत पनि भनिन्थ्यो । लिम्पि पर्वतलाई महत्वपूर्ण आधारपर्वतका रुपमा लिम्पिधुर, लिम्पिधुरा पनि भनिन्थ्यो । यी सबै संस्कृत भाषामा प्रचलित रैथाने नामहरु थिए । यसै पर्वतमा महाकाली नदीको उद्गम र वेदव्यासको गुफा पनि नजिक भएकोले महादेवका लागि यो प्रिय ठाउँ थियो । त्यहाँ महादेव–पार्वती रहँँदा उहाँहरुलाई भेट्ने क्रममा सपत्नीक देवगणहरु र सभर्तृका देवीहरुको पनि आवागमन भइरहन्थ्यो । महादेव–पार्वतीको सान्निध्य पाउन वेदव्यासले पनि त्यसै भेगमा आश्रम बनाएका थिए । धनवान् कुवेरहरु पनि यज्ञ तथा वनभोज गर्न त्यसै भेगमा आइपुग्थे । यी स्कन्द पुराणका विभिन्न खण्डलगायत पुराणहरुमा पाइने कथा प्रसङ्गहरु हुन् ।’

नेपालमा आमा साहित्यमा प्रचलित एक अर्को कथा अनुसार लिम्पियाधुरा आश्रममा आपूm दुईजना मात्र रहेका बखत एक दिन पार्वतीले महादेवसँग भन्नुभयो, ‘सबै देवदेवीहरु थरी–थरीका लुगा–गहनाले झरिझुट्ट देखिन्छन् । मेरो शरीरले भने अद्यावधि कुनै गहनासँग भेटै गरेको छैन । नाक, कान, घाँटी सबै बुच्चा छन् । देवदेवीहरुसँग सभा–बैठकमा रहँदा म कस्ती देखिँदी हुँ ? यसपटक मलाई अलि नमीठो अनुभूति भएको छ । विश्वकै निधि सर्वशक्तिमान् महादेवकी सहचरी भएर पनि मैले गरगहनाको आनन्द लिन नपाउनु एक किसिमको विडम्बना नै होइन र ? भनौँ भने मलाई हिजोआज गहनाको रहर नै पनि जागेको छ, दुई–चार सेट गहना झिकाइदिनुहोस् न ! म पनि झरिझुट्ट गहना लगाएर बस्छु !’

महादेवले गम्भीर मुखमण्डलमा मुस्कानको उज्यालो बाल्दै भन्नुभयो, ‘आगन्तुक सबैलाई गहनाले झकिझकाउ देख्यौ । तिमीलाई पनि रहर लाग्यो । यो कुनै अनौठो कुरा होइन । रहर पूरा गर । मसँग त गहनागुरिया केही पनि छैनन् । मेरा परम प्रिय मित्र विष्णुसँग धनसम्पदाको कहिल्यै नसकिने भण्डार छ । हाम्रो परम्परामा अरु कसैलाई भन्न नमिल्ने कुरा पनि मित्रलाई भन्न मिल्छ । यसै त लक्ष्मी पनि तिम्रो हित्तचित्त मिल्ने सखी नै हुनुहुन्छ । लक्ष्मीसम्म पनि पुग्नुपर्दैन । विष्णुलाई भेटेर कुरा राख । उहाँसँग हिरामोती र सुनका सुन्दरतम गहनाहरु अनगिन्ती छन् । तिमीले भनेपछि उहाँले चाहिएजति दिनुहुन्छ । जाऊ । निःसङ्कोच भएर कुरा राख । आत्मीय जनसँग मनका कुरा राख्दा सङ्कोच मान्नुपर्दैन ।’

महादेवका कुरा पार्वतीलाई राम्रै लाग्यो । विष्णुलक्ष्मी निवासमा जान तयार हुनुभयो पार्वती । नन्दीमा सवार भइसकेपछि मनमा लाग्यो, ‘रित्तै हात हल्लाउँदै विष्णुकोमा गहना माग्न कसरी जाने ? सट्टामा आपूmले पनि केही त दिनुप¥यो नि ! दिनका निमित्त के लिएर जाने ?’
पार्वतीले महादेवसँग कुरा राख्नुभयो । महादेवले मधुर मुस्कान छोड्दै भन्नुभयो, ‘तिम्रा कुरा ठीक हुन् । केही त लिएर जानै पर्छ । तर के लाने ? म भष्मको अङ्गराग लगाएर मगनमस्त रमाउने दिगम्बर महादेव । मसित शरीरमा घसेको भष्म छ । अरु केही छैन । विष्णुले मलाई नचिनेको छैन क्यारे ! अलिकति त्यही भष्म लिएर जाऊ ।’

महादेवले आफ्नो छाती–पाखुराबाट अलिकति भष्म झारेर रुमालमा पोको पार्नुभयो र पार्वतीका हातमा राखिदिनुभयो ।

विष्णुलक्ष्मीले वैकुण्ठ भवनका आँगनमा पार्वतीको हार्दिक स्वागत गर्नुभयो । स्वागतपछि बैठकमा एकछिन् आपसी कुशलक्षमका कुरा भए । हल्का जलपानको कार्यक्रम पनि भयो । यसै बीच विष्णुले विनम्र लवजमा पार्वतीसँग सोध्नुभयो, ‘आदरणीय देवीजी, तपाईंका खुशीका लागि अहिले मैले गर्नलायक कुनै सेवा छ कि ? कृपया आदेश पाऊँ ।’

सङ्कोच मान्दै पार्वतीले भन्नुभयो, ‘मलाई पनि अरु देवीहरुले जस्तै एकपटक झरिझुट्ट गहना लगाइहेरुँ भन्ने विचार आयो । यसलाई रहर भनूँ कि के भनूँ ? महादेवसँग कुरा राखेँ । महादेवले भन्नुभयो– वैकुण्ठवासी विष्णुकहाँ गएर भन । उहाँ मेरा परम प्रिय मित्र हुनुहुन्छ । तिम्रो चाहना अनुसारका गहना उहाँले व्यवस्था गरिदिनुहुन्छ, जाऊ । यसरी महादेवले जाऊ भन्नुभएपछि म आएँ । अनि यता आउनै लाग्दा मैले के लिएर जाऊँ भनेर सोधेकी थिएँ । महादेवले आफ्नै पाखुरा र छातीबाट अलिकति खरानी खसाल्नुभयो, पोको पार्नुभयो र मलाई दिँदै भन्नुभयो– यही छ यही लिएर जाऊ । म त्यही खरानीको पोको लिएर आएकी छु । मलाई यसमा सङ्कोच छ र पनि मैले तपाईंसमक्ष साँचो कुरा राखेकी छु ।’

पार्वतीका कुरा सुनेर विष्णु हल्का गम्भीर हुनुभयो । सहयोगीतिर हेरेर भन्नुभयो, ‘बाबु प्रियङ्कर, हामीकहाँ भएमध्येको ठूलो तराजु ल्याएर बार्दलीको निदालमा झुन्ड्याऊ त !’

बडेमानको तराजु तयार पारेको देखेर पार्वती लाजले भुतुक्कै हुनुभयो । विष्णुले मलाई बेइज्जत गर्न लाग्नुभएको त होइन ? मनमा विभिन्न तर्कहरुको आँधी नै आयो । विष्णुले पार्वतीसँग महादेवले पठाएको खरानीको पोका माग्नुभयो र तराजुको एकातर्पm राख्नुभयो । लज्जा र हीनताबोधले ट्वाल्लै पर्नुभयो पार्वती । बेइज्जत हुन व्यर्थै आएँछु जस्तो लाग्यो । अनुहारमा उत्रने मनोभाव सम्हाल्नै गाह्रो भयो ।

अब विष्णुले तराजुको अर्को पलडामा बडेमानको बोरा अड्याएर गहना राख्न शुरु गर्नुभयो । गहनाले बोरा भरियो । भष्मवाला पलडा टसकोमस भएन । एकपछि अर्को गर्दै दशौँ बोरा गहना राख्दा पनि भष्मकै तौल बढी भइरह्यो । विष्णुले लक्ष्मीलाई बोलाएर भन्नुभयो, ‘मेरो भण्डारको त सक्कियो महालक्ष्मी, अब तिम्रो भण्डारको गहना चाहियो ।’

अब पार्वतीमा आश्चर्यको सीमा रहेन । पार्वतीले उठेर हात जोड्दै विष्णुसँग भन्नुभयो, ‘भयो, अब लक्ष्मीको भण्डारतिर नलागौँ । बरु के हो यो भष्म ? सुन, हीरा, जवाहरातका गहनाको यत्रो डङ्गुरभन्दा खरानीको यो सानो पोको गह्रुङ्गो हुनुको रहस्य के हो ? अब मलाई रहस्यबोध चाहियो । गहना चाहिएन ।’

‘केही बोरा गहनाका त के कुरा, अनन्त ब्रह्माण्ड नै पोको पारेर तुलामा राखे पनि यो खरानीभन्दा गह्रुङ्गो हुन सक्दैन पार्वती, त्यागभन्दा गह्रुङ्गो भोग हुनै सक्दैन । त्यागको मूल्य अथाह छ । यो खरानी महादेवका महान् त्यागहरुको समष्टिगत प्रतीक हो । अनन्त ब्रह्माण्डका तमाम सम्पदाभन्दा यो खरानी मूल्यवान् छ । यसै त अनन्त ब्रह्माण्डका तमाम खजानाहरु महादेवकै हुन् । अनन्त वैभवशाली महादेवमा विलास वैभवप्रति लेसमात्र पनि आशक्ति छैन । उहाँ पूर्णतः त्यागी, योगी र सर्वथा अनाशक्त हुनुहुन्छ । यसैले त अरु हामी देवमात्र छौँ । उहाँ महादेव हुनुहुन्छ ।’

विष्णुलाई सुनेर महादेवकी सहचरी देवी पार्वती एकछिन् त स्तम्भितजस्तै हुनुभयो । क्षणभरमै उहाँमा महादेवका त्याग–तपस्याकोे व्यापक अनुभूति रुपायित भएर उठ्यो । विनम्र नमनसाथ विष्णुलक्ष्मीसँग बिदा माग्दै पार्वतीले भन्नुभयो, ‘माया–ममता र हार्दिक आदर–सम्मान पाएँ । तपाईंहरुसँग भेटेर मैले कहिल्यै नपाएको सम्बोधीसमेत पाएँ । अनुगृहित छु । मलाई अब कुनै गहनागुरिया चाहिएन । म बहकिएकोमा क्षमा गर्नुहोला । अहिले म गएँ ।’ पार्वती आदिकैलास फर्कनुभयो ।

कथा पुरानै हो । हाम्रा नेपाली गाउँघरमा हरेक आमाले आफ्ना कलिला सन्ततिलाई सुनाउँदै आएको कथा । संस्कार संस्कृति र मनस्थिति निर्माणको कथा । अनमोल कथा ।

महात्मा बुद्धको जन्मभूमि तथा त्याग र योगका विश्वगुरु महादेवको कर्मभूमि नेपालका गाउँबस्तीहरुमा आमाहरुले आफ्ना बालबालिकाहरुलाई यस्ता आदर्श कथा सुनाउनु र नयाँ पुस्तामा उन्नत, सभ्य, शिष्ट व्यक्तित्वको अपेक्षा गर्नु स्वाभाविकै थियो ।

बूढापाकाहरु भन्नुहुन्छ, ‘पश्चिमाहरुको अघोषित योजनामा आयोजित सांस्कृतिक अतिक्रमणमा परेर नेपाली जनजीवनले यस्ता कथा बिर्संदा आज हामी बाटो हराएको बटुवा बनेका छौँ । कुहिराको काग बनेका छौँ । मणि हराएको नाग बनेका छौँ । हाम्रा राजनेताहरु र शासक–प्रशासकहरुले खरानीको मूल्य अनि महत्व नबुझ्नुकै कारण अनि त्याग–तपस्याको महत्व नबुझ्नुकै कारण उनीहरुमा अपानवायुबाहेक अरु केही त्याग गर्न नसक्ने संस्कृति मौलाएको छ । देश–जनता बेचेर पनि सत्ता–सम्पत्ति जुटाउने भोगलम्पट शासकीय संस्कृति मौलाएको छ । यसैले मुलुकमा जताततै भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, कमिसनतन्त्र र दलालीपोषित लुटतन्त्रको व्यापकता छ । देश र जनताका हित–भलोको लागि राजनेताले त्याग–तपस्या गर्ने परम्परागत धीरोदात्त संस्कृतिको नामोनिसान बाँकी छैन ।’

प्रतिक्रिया दिनुहोस्