बालस्वास्थ्यप्रतिको दायित्वबोध



काठमाडौं

बालबालिकालाई स्वस्थ बनाउने विश्वको अभियानअनुसार नेपाल सरकारले नियमित खोपमा जोड दिँदै आउनु सकारात्मक पक्ष हो। नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई आगामी ३१ वैशाखमा छुट खोप दिने अभियान चलाउनुले सरकार बालबालिकाको स्वास्थ्यप्रति सचेत छ भन्ने प्रस्ट्याउँछ।

नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ सञ्चालन गर्नुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाप्रतिको दायित्वबोध गरेको बुझ्नुपर्छ। यस्ता अभियानलाई निरन्तरता दिँदै जानुपर्छ। स्वस्थ नागरिक भए भने देशको अर्थतन्त्र बलियो बनाउन मद्दत मिल्छ। स्वस्थ नागरिकले देशका लागि आवश्यक काम गरी मुलुकलाई आर्थिकरुपमा सबल बनाउन ठूलो टेवा मिल्छ।

नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप पूरा गर्ने यो अभियानले धेरै बालबालिकाको जीवन बचाउन मद्दत पुग्नेछ । यस्ता अभियानलाई दातामा निर्भर हुनुभन्दा सरकार आफँैले खोप सञ्चालन गर्न सक्ने हुनु आजको आवश्यकता हो।

खोप अभियानअन्तर्गत रहेका खोपहरु दातृ निकायले बन्द गर्ने चेतावनी दिइरहँदा सरकारले निरीह भएर दातालाई गुहार्नुपर्ने अवस्था छ । यस्तो अवस्थालाई घटाउँदै लगी आफैँमा आत्मनिर्भर बन्नेतर्फ सरकारले समयमै ध्यान देओस्।

सरकारले रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्दै आएको छ। यी खोपहरु गाभी, युनिसेफलगायतका दाता निकायहरुले निःशुल्करुपमा उपलब्ध गराउँदै आएका छन्।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप लगाएको प्रकाशमा आएको छ । तर पनि चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् भन्ने कुरासमेत बाहिर आएको छ। केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको संख्या बढ्दै गई दादुरा, रुबेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिने अभियानलाई विशेष अभियानका रुपमा मन्त्रालयले कार्यक्रम नै तय गरी अघि बढेको जनाएको छ।

यो अवसरलाई आमनागरिकले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्नुले भविष्यमा हुन सक्ने समस्याबाट बालबालिकालाई जोगाउन मद्दत पुग्नेछ।

पूर्ण खोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकाले सबै बालबालिकालाई पूर्ण खोप लगाउन आवश्यक रहेको मन्त्रालयको ठम्याइ छ। यो खोप अभियान सराहनीय छ। आगामी दिनमा समेत कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोऊन् र रोगबाट मुक्ति पाई देशको नीति, निर्माण तहमा पुगेर समयसापेक्षरुपमा अघि बढ्न सक्षम होऊन्।

स्वस्थ नागरिक भए मात्र देशको आर्थिक उन्नति हुन्छ र समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ। महँगीका कारण स्वास्थ्य सेवा, खाद्यान्न, यातायात, शिक्षा आदि प्राप्त गर्न कठिनाइ परिरहेको अवस्था छ। यो अवस्थामा देशमै आर्थिक उपार्जनका विषयमा सोच्न सक्ने क्षमताको विकासका लागि पनि स्वस्थ नागरिक हुनु जरुरी छ। यस्ता खोप अभियानले दीर्घकालमा स्वस्थ नागरिक र समुन्नत देश बन्न सकोस्।

प्रतिक्रिया दिनुहोस्