स्ववियु निर्वाचनको अन्तिम मिति वैशाख ४



Eligible students cast their ballots for the presidential election and several state positions while voting at a polling place in Memorial Union’s Tripp Commons at the University of Wisconsin-Madison on Nov. 6, 2012. The Memorial Union is the designated polling location for campus residents living in Adams, Barnard, Chadbourne, Elizabeth Waters, Slichter and Tripp residence halls. (Photo by Jeff Miller/UW-Madison)

–४८ आंगिक र ३ सय सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन सम्पन्न
–काठमाडौंका ४ सहित १२ क्याम्पसमा अनिश्चित
–स्ववियु कार्यसमितिका सबैलाई अभिमुखीकरण गर्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०८० वैशाख ४ गतेसम्ममा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसके एक वर्षसम्म नहुने जनाएको छ । त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ अनुसार चैत ५ गते स्थगित निर्वाचन वैशाख ४ गतेसम्म मात्र गर्ने मिल्ने व्यवस्था उल्लेख भएअनुसार त्यसपछि निर्वाचन गर्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘वैशाखपछि पढाइ र परीक्षालाई सँगै लैजानुपर्ने भएकाले तत्काल निर्वाचन गर्न सम्भव हुँदैन । हाल काठमाडौंको ४ सहित १२ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन । काठमाडौंकोे त्रिचन्द्र, नेपाल कमर्श (मीनभवन), विश्वभाषा र अमृत साइन्स (अस्कल) क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ । बाँकी २ वटा पाटन संयुक्त र आरआर क्याम्पसमा यही २५ र २७ गते हुने गरी प्रक्रिया शुरू भएको छ । उपत्यका बाहिर डोटी क्याम्पस डोटी, सिद्धनाथ महेन्द्रनगर, कास्कीको पृथ्वीनारायण, पोखरा इन्जिनियरिङ र पोखरा नर्सिङ, चितवनको वीरेन्द्र बहुमुखी र इन्जिनियरिङ क्याम्पस र वीरगन्जको ठाकुरराम क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ ।

अनुगमन समितिले फागुन तेस्रो साता १३ बँुदे निर्देशिका जारी गरी स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने व्यवस्था गरेको छ । निर्देशिकाको दफा १२ को उपदफा ८ मा चैत ५ गते स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख छ ।

निर्देशनालयका निर्देशक एवं निर्वाचन समितिका संयोजक प्रा. अधिकारीले निर्वाचन सम्पन्न भएका क्याम्पसमा स्ववियुको पदाधिकारी र सदस्यलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सोहीअनुसार केही क्याम्पसले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् । निर्देशनालयले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा विजयी सबैको पद र मत विवरण पठाउनसमेत निर्देशन दिएको छ ।

‘त्रिवि शैक्षिक तथा प्रशासनसम्बन्धी नियमावली २०५० मा क्यामपसमा विजयी पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार निर्वाचन सम्पन्न भएका सबै क्याम्पसमा परिपत्र गरेका छौं’ –निर्देशनालयका निर्देशक प्रा. अधिकारीले भन्नुभयो । अभिमुखीकरणसहित क्यामपस पदाधिकारी र सदस्यको सम्पूर्ण विवरण प्राप्त भएपछि विद्यार्थीले क्यामपसमा वार्षिक रूपमा खेलकुदलगायत सबै कार्यक्रम शुरू गर्नुगर्ने उहाँको भनाइ थियो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार हालसम्म देशभर ४८ आंगिक र करिब ३ सय सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन सम्पन्न भएको छ । देशभर ६२ आंगिक र १ हजार ४० सम्बन्धन क्याम्पस छन् । तीमध्ये झन्डै ७ सय वटामा स्ववियु निर्वाचन हुन सकेको छैन । निर्वाचन हुन नसकेको क्याम्पसमा क्याम्पस प्रमुखले आन्तरिक रूपमा विद्यार्थी संघ, संगठनसँग छलफल गरी त्रिविको सहमतिपछि मात्र निर्वाचन गर्नुपर्नेछ ।

‘हामीले वैशाख ४ गतेसम्म समय हेरेका छौं, त्यस बेलासम्म पनि निर्वाचन सम्पन्न गर्न नसके त्यसको जिम्मा क्याम्पस निर्वाचन समिति र क्याम्पस प्रमुखले लिनुपर्नेछ’ –निर्देशक प्रा. अधिकारीको भनाइ थियो । घरिघरि वर्षैभरि निर्वाचन गर्ने समय त्रिविलाई नभएको र त्यसो गर्दै गए अब आउने स्ववियु निर्वाचन गर्न थप जटिल हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्