वरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम सीमा व्यवस्थापन र राजश्व संकलनमा जोड

0
Shares

काठमाडाैं ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा वरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम सञ्चालन गरिएको छ ।

आइतबार र सोमबार सञ्चालित कार्यक्रममा सीमा व्यवस्थापन र राजश्व संकलनमा गम्भिर छलफल भएको छ । उल्लेखित विषयलाई मुख्य रुपमा छलफल गर्ने गरी भएको कार्यक्रममा विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सबै प्रदेश र उपत्यकास्थित बाहिनीपति, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, तालिम शिक्षालयका समादेशक र मुख्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।

आइतबार कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भने– ‘संगठन सुधार र आचरणमा गम्भिर हुनुपर्छ, उपस्थितीले मात्र हुँदैन, परिणाम चाहिन्छ । नबुझे जस्तो गर्न छुट छैन परिवर्तन अपरिहार्य छ, परिवर्तन आफैबाट सुरु गर्न जरुरी छ ।’

उनले हजारौँ सदस्यहरु रहेको एउटा सिंगो संगठनलाई कुनै व्यक्ति विशेषले मात्र सुधार गर्न सम्भव नरहेको बताउँदै म एक जनाले उर्जा दिएर के हुन्छ भन्ने मानसिकताबाट माथि उठी असम्भव के छ, भन्ने मनस्थिती बनाई शान्ति सुरक्षा, तालिम, सीमा, विपद् उद्धार, प्रशासन, बन्दोवस्ती लगायत राज्यले निर्दिष्ट गरेका म्याण्डेटहरुमा परिचालित हुँदा आईपरेका समस्याको पहिचान, सुधारका क्षेत्रहरु, मौजुदा संयन्त्र एवं परिपाटीमा गर्नुपर्ने परिमार्जनमा विश्लेषण तथा गहन अध्ययन र छलफल गरी समाधानको निकास र निचोड निकाल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सबैको ध्यान संगठन सुधारमा केन्द्रित हुन जरुरी रहेको उल्लेख गर्दै छलफल भएका विषयलाई विस्तारै कार्यान्वयनमा लैजान जरुरी रहेको तथा हाम्रो सोच उद्देश्य र सवल पक्षलाई अझै परिस्कृत गर्दै सिमित श्रोतसाधनको अधिकतम प्रयोग गरी गुणस्तरीय कार्य गर्न सकियो भने सानो कुराबाट सुधार गर्दै ठूलो सफलता हासिल गर्न सकिने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सशस्त्र प्रहरीलाई प्राप्त म्याण्डेट अनुसार सीमा क्षेत्रमा परिचालित हुँदा बढि चनाखो र आउन सक्ने चुनौतीको पूर्वानुमान गरी संवेदनशिल भई चुस्त र दुरुस्त ड्यूटिमा परिचालन हुनुपर्ने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न निर्मम भई लाग्नुपर्ने बताउँदै राजश्व तथा भन्सारलाई सहयोग र अपराध नियन्त्रणमा अनुभूति हुने गरी कार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा सीमावर्ती अपराध नियन्त्रण, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, अवैध निकासी पैठारी नियन्त्रणमा खेल्नुपर्ने भूमिका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

सो विषयमा नम्बर १ बराह बाहिनी मुख्याल सुनसरी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपतिहरुद्धारा प्रस्तुतीकरण गरिएको थियो ।

यसकासाथै संगठनको आगामी कार्यदिशा र भावि कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो । यसकासाथै बृत्तिबिकास र आगामी सुरक्षा चुनौतीका बारेमा पनि छलफल भएको थियो । कार्यक्रम मंगलबार समापन हुने छ ।