पहिलो महिला आईजीपीको रेकर्ड राख्ने ‘अवसर’

376
Shares

काठमाडौं ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदको पहिलो महिला प्रतिस्पर्धी हुनुभएको छ । सरकारले सोमबार बज्राचार्य सहित पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई एआईजीमा बढुवा गरेसँगै उनी भावी आईजीपीका लागि पहिलो महिला प्रतिस्पर्धी बन्नुभएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। ३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी धीरजप्रताप सिंह चैत्र ११ गतेदेखि अवकाशमा जाँदैछन्। यससँगै बढुवा भएका पाँच एआईजीमध्येबाट एक जना नयाँ आईजीपी बन्ने सम्भावना छ ।

तर, आईजीपी सिंह प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर आफ्नो पदावधि लम्ब्याउने कसरतमा हुनहुुन्छ । उहाँको यो प्रयास सफल नभएको अवस्थामा पाँच एआईजीमध्येबाट एक जना आईजीपी बन्ने बाटो खुल्नेछ ।यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ डा. आशा सिंह तथा प्रशासनतर्फ पूजा सिंह एआईजीमा बढुवा भएको थियो। तर, उहाँहरू आईजीपी बन्ने गरी समूहगत बढुवामा पर्नुभएको थिएन।

एआईजी बढुवामा बज्राचार्य पाँचौं नम्बरमा हुनुहुन्छ । प्रहरी नियमावलीमा सरकारले चाहेको एआईजी र डीआईजीबाट प्रहरी प्रमुख चयन गर्न पाउने व्यवस्था रहेको छ । प्रहरी नियमावली, २०७१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व वहन गर्ने क्षमता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उपयुक्त ठानेको जोसुकै एआईजीबाट समेत आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।

बज्राचार्य आईजीपी बनेमा उहाँ नेपाल प्रहरीको पहिलो महिला आईजीपी हुनुहुनेछ ।३० वर्षे सेवा अवधि नहटे सरकारले नेपाल प्रहरीको १०८ औं ब्याचबाट ३० औं प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ ।