त्रिवि स्ववियु निर्वाचन : तीन कम्युनिस्ट विद्यार्थी संगठनबीच सहकार्य हुँदै



Eligible students cast their ballots for the presidential election and several state positions while voting at a polling place in Memorial Union’s Tripp Commons at the University of Wisconsin-Madison on Nov. 6, 2012. The Memorial Union is the designated polling location for campus residents living in Adams, Barnard, Chadbourne, Elizabeth Waters, Slichter and Tripp residence halls. (Photo by Jeff Miller/UW-Madison)

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनबीच सहकार्य गर्ने सम्भावना देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) निकटका विद्यार्थी सङगठनबीच सहकार्य गर्ने विषयमा आइतबार बैठक बसेको थियो । बैठकमा मध्यपश्चिम विश्वविद्यालयका ११ वटा क्याम्पसमा संयुक्त प्यानल खडा गरी मनोनयन गरिसकेको अवस्थामा त्रिविमा पनि तीनवटै संगठनबीच सहमति गर्ने सम्भावना रहेको छ ।

एकिकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेस पराजुलीले मध्यपश्चिम विश्वविद्यालयमा तीन संगठनबीच सहमति भइसकेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सोही आधारमा अब चैत ५ गते हुन लागेको त्रिवि र ८ गते हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयमा तीन संगठनबीच सहकार्य गर्नेछौं ।’

यसअघि सरकारआवद्ध आठ विद्यार्थी संगठनबीच सहकार्य गर्ने सहमति भएको थियो । सहमतिअनुसार संयुक्त प्यानल बनाउने निर्णय भएको थियो । तर, राजधानीलगायत देशैभरका अधिकांश क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघले आफ्नै उम्मेदवार खडा गर्ने बताएपछि सरकारआबद्ध आठ संगठनबीचको सहमति भाडिएको थियो ।

यसअघि आठ विद्यार्थी संगठनले एमाले निकट अनेरास्ववियुको विरुद्धमा सबै एक भएर जाने निर्णय गरेका थिए । पछि उपत्यकाको क्याम्पसमा पद बाँडफाँट गर्ने विषयमा सहमति हुन नसकेपछि कम्युनिस्ट पार्टी निकट विद्यार्थीहरू एक भएका हुन् । एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले तीन संगठनबीच सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘हामी तीन संगठनबीच बैठक भएको थियो । बैठकले कसरी सहमति गरेर अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।’ उहाँका अनुसार सकभर मिलेर जाने नभए एक्लै प्रतिष्पर्धा गर्ने विषयमा कुराकानी भइरहेको छ । नेविसंघमा संस्थापन र संस्थापनइतर समूहबीच आन्तरिक कलहको कारण सरकारआबद्ध विद्यार्थी संगठनबीच सहकार्य गरेर जाने सम्भावना न्यून देखिएको छ ।

त्यस्तै, अनेरास्ववियु क्रान्तिकारीमा पनि आन्तरिक कलह बढ्दै गएको छ । तैपनि तीन विद्यार्थी संगठनबीच मिलेर निर्वाचनमा होमिने विषयमा छलफल भइरहेको छ । यही २७ गते उम्मेदवारी मनोनयन गर्ने दिनसम्ममा सबै विषयको टुङ्गो लाग्ने विद्यार्थी संगठनको भनाइ छ । यस विषयमा नेविसंघ र अनेरास्ववियु( क्रान्तिकारी)का अध्यक्षसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तीन विद्यार्थी संगठनबीच संयुक्त वा एक्लै निर्वाचनमा होमिने विषयमा फागुन २७ मा मात्र जानकारी हुनेछ । यसअघि यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले क्याम्पसमा नाम दर्ता गराइसकेका छन् । ती विद्यार्थी संगठनले छुट्टाछुट्टै संगठनको नाम दर्ता गराएका हुन । निर्वाचन अघि सबै विद्यार्थी संगठनले एकल र आन्तरिक रूपमा छलफल चलाइरहेका छन्् ।

पार्टीलाई चलायमान बनाउन विद्यार्थी संगठनको भूमिकाप्रति पार्टीले समेत चासो देखाएको छ । सबै क्याम्पसको निर्वाचनमा पार्टीको समन्वयनमा मात्र विद्यार्थीले मनोनयन दर्ता गर्ने तयारी छ ।

आगामी चैत ५ गते देशभरिका त्रिविका ६० आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । कार्यतालिकाअनुसार फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदान समय तोकिएको तोकिएको छ ।

त्रिविमा मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन हुनेछ । निर्वाचनमा ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउने छन् । त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीबाट निर्वाचन गर्न थालेको हो । स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५१ फागुन २८ गते वा सोभन्दा पछिको जन्ममिति भएको विद्यार्थीले मात्र उम्मेदवारी दिन पाउनेछन् । निर्वाचनमा स्ववियु कमिटीमा अध्यक्ष, सचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष प्रणालीअनुसार निर्वाचन हुनेछ । त्यसमध्ये उपाध्यक्ष र सहायक सचिव समानुपातिक प्रणालीबाट निर्वाचित भएका सदस्यहरूबाट मनोनित गरिनेछ । स्ववियु कमिटी ११ देखि २१ जनासम्मको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्