बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान शुरू

0
Shares

काठमाडौं । नयाँ बसपार्क क्षेत्रमा फागुन १ गते भएको आगजनी तथा लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले ४० शंकास्पद व्यक्तिलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै यातायात क्षेत्रमा कार्यरत विभिन्न मजदुर संगठनले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएकाहरूले नेपाल प्रहरीको दुईवटा सवारीसाधन र एउटा अस्थायी प्रहरी बिटमा आगजनी गरेपछि सो क्षेत्रमा लुटपाट मच्चाएका थिए ।

आन्दोलनका नाममा सहभागी भएका युवाहरूले लोत्से मलभित्र प्रवेश गरी विभिन्न पसल तोडफोड गरी करोडौंको सामान लुटपाट गरेका थिए । प्रहरीको असावधानीले ठूलो क्षति भएको भन्दै आन्दोलनका नाममा आगजनी र संलग्न रहेकाहरूलाई कारबाही गर्न सरकारले निर्देशन दिएपछि प्रहरीले कारबाही प्रक्रियालाई तीव्रता दिएको छ ।

प्रहरीले उक्त आन्दोलनका नाममा आजगनी र लुटपाट गर्नेहरूलाई खोजी गर्दै पक्राउ गर्ने क्रमलाई निरन्तरता दिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

एसएसपी कार्कीका अनुसार लोत्से मलमा रहेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाटमा संलग्न रहेकाहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेका उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिने उहाँले बताउनुभयो ।

लुटपाटमा संलग्नलाई मुलुकी अपराधसंहिता ऐन २०७४ अनुसार चोरी तथा डाकासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ भने आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराधसंहिता ऐनबमोजिम आपराधिक उपद्र गर्न नहुने कसुरमा अनुसन्धान गर्दै कारबाही अघि बढेको सोही परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

सो घटनाका विषयमा छानबिन गर्न गठित समितिले छानबिन प्रक्रियालाई अघि बढाएको छ । प्रहरीबीच समन्यवको अभाव हुँदा उक्त घटना भएको भन्दै सरकारले अबदेखि कुनै पनि समूहले आयोजना गर्ने विरोध कार्यक्रमको पूर्वअध्ययन गर्न पनि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

सो क्षेत्रमा खटिएका प्रहरीले आन्दोलनमा संलग्न रहेका समूहको अवस्थाका बारेमा जानकारी लिन नसक्दा उक्त घटना भएको आँकलन गरेको छ । लोत्से मलमा भएको तोडफोड तथा लुटपाटका क्रममा १० करोडभन्दा बढी क्षति भएको पीडितहरूले दाबी गरेका छन् ।