टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सेना दिवस मनाइयो

0
Shares

काठमाडौँ।

नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी महाशिवरात्री तथा सेना दिवस मनाएको छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुखआतिथि रहेकी थिइन्। सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही -२०७९ तथा नेपाली सेनाको इतिहास वि.सं. १८७२-२००७ नामक पुस्तकको विमोचन गर्नुका साथै फ्रि-फल जम्पमा प्रथम र द्वितिय हुने सेनानी जगनाथ दनै र सेनानी टेक बहादुर कार्कीलाई पुरस्कृत गरिन् । राष्ट्रपतिले भारतीय सेना तथा बेलायती सेनाको व्याण्डलाई उपहार पनि प्रदान गरिन् ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत विभिन्न व्यानर प्रदर्शनसहित पुष्पबृष्टी गरिएको थियो । त्यस्तै राईफल र तोपबाट बढाइँ गरिएको थियो ।

नेपाली सेनाका विभिन्न अंगहरु तथा गतिविधिहरुको प्रतिनिधित्व हुने झलकहरुका साथै सैनिक हतियार, उपकरण र विविध सैनिक कला प्रदर्शन, मार्चपाष्ट, फ्रि-फल जम्प लगायत विभिन्न संस्कृती झल्कने नाच एवं झाँकी प्रस्तुत गरिएको थियो । उक्त समारोहमा नेपाली सैनिक व्याण्डका साथै भारतीय सेनाको एघारौं गोर्खा राइफल्स रेजिमेन्टल सेन्टर र युके सेनाको ब्यान्ड अफ ब्रिगेड अफ गोर्खाजद्वारा ब्यान्ड प्रदर्शन गरिएको थियो ।

त्यस अवसरमा मौलिक वाद्यवाधनका साधनहरुको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य अनुरुप ५५५ (पाँच सय पचपन्न) जना सकलदर्जाद्वारा मादलको ताल र लय प्रस्तुत गरिएको थियो ।

यही फाल्गुण ४ गते प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा भएको मादलको सोही प्रस्तुती वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनद्वारा विश्व किर्तीमानका रुपमा प्रमाणित भईसकेको छ । आज सैनिक मञ्‍चमा आयोजित बेग्लै समारोहमा वर्ल्ड बुक अफ रेकर्ड्सका प्रतिनिधि सागर कटवालले प्रधान सेनापति प्रभुराम शर्मालाई सो किर्तीमानको प्रमाणपत्र हस्तान्तरण गरे ।

समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरु, महामहिम राजदुतहरु, पूर्व प्रधान सेनापतिहरु, भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकका सैनिक सहचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

देशका विभिन्न स्थानहरुमा तैनाथ एवं विदेशस्थित नेपाली सेनाका सबै इकाइहरुले नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवका अवसरमा सेना दिवस-२०७९ विविध कार्यक्रमहरुसहित मनाइरहेका छन् ।