खोटाङ ।
खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित शारदा माबिको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ ।
नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको प्यानललाई हराउँदै एमालेको प्यानल विजयी भएका छन् ।
व्यवस्थापन समितिका लागि पूर्व वडाध्यक्ष समेत रहेका यज्ञ नारायण श्रेष्ठले ७७ मत, वीरबहादुर रोक्काले ७० मत, खड्गकुमारी बरुवालले ७७ मत र मनकुमारी श्रेष्ठले ८४ मत ल्याएर विजयी भएका छन् ।
यस्तै, कांग्रेस–माओवादी केन्द्र प्यानलका सुरेन्द्र राईले ६६ मत, हरी राईले ६३ मत, डोमु शेर्पा (राई)ले ६५ मत र विष्णुकुमारी बस्नेत (खड्का)ले ६५ मत पाएर पराजित भएका छन् । निर्वाचनमा कुल १४८ जना अभिभाबकले मत हाल्दा १० मत बदर भएको थियो ।
पटक–पटकको छलफलमा सहमती नजुटेपछि दुई महिला र दुई पुरुष सदस्यका लागि आठ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै अर्को समिति गठनका लागि विद्यालयले पत्राचार गर्दै गत माघ २७ गते अभिभावकलाई बोलाएको थियो । सो भेलामा व्यवस्थापन समितिमा बस्न २५ जनाले आकांक्षा देखिाएपछि पटक–पटक छलफल गर्दा पनि सहमती जुट्न नसकेको प्रअ हर्कबहादुर कार्कीले बताए ।
निर्वाचनबाट चुनिएका चार सहित विद्यालय व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था छ । प्रधानाध्यापक स्वतः सदस्य सचिव रहने व्यवस्था छ । निर्मला कार्कीलाई शिक्षक प्रतिनिधिबाट छनौट गरिएको छ । वडाध्यक्ष चिरञ्जीवी कार्की स्वतः पदेन सदस्य रहन्छन् । सात जनाको बैठकले पुःन दुई सदस्य मनोनित गर्ने व्यवस्था छ ।
पछिल्लो समय जिल्लाका कतिपय सामुदायीक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ती परीक्षण गर्ने साधन बन्दै गएको छ । आफ्नो शक्ती परिक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ ।
प्रतिक्रिया