उपभोक्ता समिति बोर्डमा आएपछि पानी निःशुल्क

0
Shares

हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको १० हजार लिटरसम्म पानी निःशुल्कको सुविधा हेटौंडा–१०, न्युरेनीका बासिन्दाले पनि उपभोग गर्न पाउने भएका छन् ।
करिब १२ वर्षदेखि उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गर्दै आएका स्थानीयले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै पानी निःशुल्क पाउने भएका हुन् ।

उपमहानगर प्रमुख मीनाकुमारी लामाले बोर्डमार्फत् जोडिएका धाराबाट पानी उपभोग गर्ने नगरबासीलाई १० हजार लिटर पानी प्रयोगमा शुल्क नलाग्ने सम्झौता हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँगै गरेसंगै स्थानीयले पानी निःशुल्क उपभोग गर्न पाउने भएका हुन् ।

बोर्डमा उपभोक्ता समिति हस्तान्तरणसँगै न्युरेनीका १ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १ सय ३७ धारामा स्वच्छ र सफा खानेपानी व्यवस्थापन गर्ने काम भएको बोर्ड अध्यक्ष प्रताप बिष्टले बताउनुभयो । उपभोक्ता समिति हस्तान्तरणपूर्व बोर्डले न्युरेनीमा नयाँ पाइपलाइन बिस्तारपछि घरैपिच्छे धारा जडानको व्यवस्था मिलाइसकिएको उहाँले बताउनुभयो । स्थानीयले २०६७ सालदेखि मासिक १ सय ५० रुपियाँ न्यूनतम् शुल्क तिरेर खानेपानी उपभोग गर्दै आएका छन् ।

उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा उपमहानगर प्रमुख लामाले नगरको समग्र विकासमा पालिका लागिपरेको बताउँदै न्युरेनी लक्षित आयआर्जनमा जोडिन राप्तीतटमा आकर्षक पार्क निर्माण गरिने बताउनुभयो । अव्यवस्थितढंगबाट फालिएका फोहर व्यवस्थापन गर्दै उपमहानगरले व्यवस्थितढंगबाट मेसिन प्रयोग गर्दै फोहर व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । नगरको विकास र सुन्दरतामा उपमहानगरबासी एकजुट हुनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

खानेपानी उपभोक्ता समिति अध्यक्ष नेत्रनाथ धिमालको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष फुर्वा दोर्जेलामा, बोर्ड सदस्य इन्द्र नेपाल, वडा सदस्यहरु शारदा श्रेष्ठ, गोमा सुनार र खानेपानी बोर्ड कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाको आतिथ्यता थियो ।