कोइला बाल्दा चार दिने शिशुको मृत्यु

0
Shares

हेटौंडा ।

कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिने शिशुको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–४, थानसिङ गाउँमा शनिबार आफ्नो घरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार घटनास्थलमा शिशुका बुबा २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निस्सासिएर बेहोस अवस्थामा भेटिएका छन् । उनीहरुलाई शनिबार नै हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । विपनालाई थप उपचारका लागि स्थानीय चुरेहिल अस्पताल रिफर गरिए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिकामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । शव माघ ५ गतेदेखि बेपत्ता रहेकी वडा नम्बर–८, भाइढुल बस्ने ३७ वर्षीया फूलमाया प्रजाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जंगलमा घाँस काट्न घरबाट गएकी उनलाई स्थानीयले खोजतलास गर्ने क्रममा घरदेखि करिब ५ सय मिटर पूर्वतर्फ जनकल्याण सामुदायिक बनमा रुखको हाँगामा प्लाष्टिकको नाम्लोको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा फेला पारेका हुन् ।

शव शनिबार साँझ ६ बजे रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक प्रजाको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।