पशुपतिनाथ क्षेत्र सुन्दर तथा रमणीय बनाउन आफै जुटे सदस्य सचिव डा.थापा 

0
Shares

काठमाडौँ।  

महाशिवरात्रि नजिकिँदै गर्दा अहिले पशुपतिनाथ क्षेत्रमा रङ रोगनदेखि सरसफाइ गर्ने कार्य तीव्र रुपमा अगाडि बढेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा पशुपतिनाथ क्षेत्रमा सरसफाइ लगायत अन्य कार्य गर्नका लागि आफै खटिनु भएको छ ।

पशुपति क्षेत्रको सफाइमा सदस्य सचिव डा.थापा बिहान ५ बजेदेखि खटिने गरेको बताइएको छ । पशुपतिमा सफाइ गर्ने कर्मचारी न्यून रहेको र भएका पनि काम छल्दै हिँड्ने भएका कारण सदस्य सचिव आफै सर सफाइमा खटिने गरेका एक कर्मचारी भीमबहादुरले बताए । उनले भने, ‘सरसफाइ गर्ने कर्मचारीको कमी छ,भएका पनि कोही कतै कोही कतै जान्छन्, अनि सदस्य सचिव ज्यु आफै खटिनु हुन्छ ।’ सफाइ कर्मचारीलाई प्रेरित गर्न हो वा साङ्केतिक रुपमा उनीहरुलाई कारबाही गर्ने उद्देश्यले हो, सदस्य सचिव डा.थापा शनिवार दिनभर जसो पशुपति क्षेत्रको सरसफाईमा बिताउनुभयो ।

पशुपति क्षेत्रको सफाइमा सधै चुनौति हुने भएकाले आफू सरसफाईमा खटिएको सदस्य सचिव डा. थापाले बताउनुभयो । कोषले वातावरण तथा सरसफाइ शाखा हर्ने कर्मचारी पनि खटाउने गरेको छ । तर बाहिर देखिने स्थानमा मात्र झारो टार्ने उद्देश्यले आफ्नै कर्मचारीले साथ नदिएको सदस्य सचिव थापाको भाव देखिन्थ्यो  । कोषका एक सदस्यका अनुसार ‘कर्मचारीलाई कारबाही गरे राजनीतिक दवाव र कर्मचारी संगठनको विरोध आउँछ, शिवरात्रीको संघारमा कर्मचारी चिढ्याउन नखोजेका कारण कर्मचारीहरुलाई प्रेरित गराउन सदस्य सचिव आफै सफाइमा लागेका हुन सक्छन्’ उनले भनें ।

पशुपति क्षेत्रमा शौचालयको निकै समस्या छ । शौचालयको संख्या निकै कम भएका कारण विशेष पर्वमा भार थेग्न समस्या भएको कर्मचारीहरु बताउँछन् । शौचालयको संख्या कम भएका कारण पनि शौचालय फाहोर नै देखिने गरेको छ । कोषका एक सदस्यका अनुसार घाटको अगाडि २०० जना एकैपटक प्रयोग गर्न मिल्ने २ तल्लाको शौचालय बनाउन पिलर उठाए पनि राजनीति खिचातानीका कारण कोषका सदस्यहरुकै विमतिले निर्माण हुन सकेको छैन ।

शिवरात्रिमा लाखौँ भक्तजनको उपस्थिति हुने क्षेत्रमा शौचालय प्रमुख समस्या भएको ती सदस्यले दुखेसो गरे । यसका लागि कोषले  मन्त्रालय लगायत सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ ।

यसवर्ष शिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा डिजिटल बत्तीले झिलिमिली र फूलमालाको सजावटले पशुपति क्षेत्रमा निकै रौनक बढ्ने कोषले जनाएको छ । शिवरात्रिको तयारीका लागि टुटे फुटेका भुईँका ढुंगाहरु मिलाउने, पर्खालहरुमा रंग रोगन गर्ने, आवास तथा स्वयंसेवकहरुको व्यवस्थापन गर्ने कार्य गरिरहेको छ ।