महिलालाई आत्म निर्भर बनाउन सिलाई कटाई तालिम

0
Shares

लमजुङ। 

बेसीशहर नगरपालिका वडा नं. ८ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको वडाले जनाएको छ ।

तालिमको उद्घाघटन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्यालले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने नगरप्रमुखको भनाई छ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने नगरप्रमुख अर्यालले बनाउनु भयो ।

सोही कार्यक्रममा बोल्दै नगरप्रमुख पदमा गुरुङले सहभागिताहरु आफैले छानेको तालिम भएकोले सहभागिताहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात् आफै व्यवसाय गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक गीता प्रधानले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउँदै तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

सिलाई कटाई तालिमको लागि वडाले सात लाख ७७ हजार आठ सय ८० रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष पवित्र थापा रानाले जानकारी दिनुभयो । वडाले सोही तालिमको लागि २१ वटा मेसिन खरिद गरिएको छ भने तालिम सम्पन्न पश्चात् सो मेसिन सहभागिताहरुलाई प्रदान गरिने वडा अध्यक्ष पवित्र थापा रानाले बताउनु भयो ।

वडा नं. ८ का वडा अध्यक्ष पवित्र थापा रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दे कार्यक्रमको सञ्चालन मेडपा फोकल पर्सन अन्जु रानाले गर्नु भएको थियो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेल, कार्यक्रम अधिकृत मेगेन्द्र पोख्रेल, लेखा अधिकृत सिर्जन पौडेलल लगायतको उपस्थिति थियो ।