प्रतिरक्षाका लागि सक्षम बनाउन किशोरीहरुलाई आत्मरक्षा तालिम

0
Shares

लमजुङ । 

लमजुङको सदरमुकाम बेसीशहरमा किशोरी शिक्षा अन्तर्गत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ ।

सामाजिक विकास कार्यालय लमजुङको आयोजन र सामुदायिक विकास केन्द्र (आरसिडिसि) को प्राविधिक सहयोगमा कक्षा ११ र १२ मा अध्यानरत विद्यार्थीहरूलाई आफ्नो प्रतिरक्षाका लागि सक्षम बनाउन तिन दिनको तालिम प्रदान गरिएको हो ।

महिला हिंसा एवं बलात्कार जस्ता घटनाबाट जोगिन किशोरीहरूलाई प्रतिरक्षा गर्न सहज होस् भन्ने उद्देश्यले तालिम प्रदान गरिएको सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बताउनु भयो ।

 

कार्यक्रममा आरसिडिसिका कार्यकारी निर्देशक विश्व विनोद घिमिरेले सैद्धान्तिक रूपमा प्रशिक्षण दिनुभएको छ भने कराते जिल्ला संयोजक प्रेमबहादुर गुरुङले प्रयोगात्मक रूपमा प्रशिक्षण दिनुभएको छ । २९ गते सम्म संचालन हुने तालिममा नगरपालिका भित्रका सात विद्यालयबाट पाँच/पाँच जना गरी ३५ जना विद्यार्थीहरुको सहभागिता छ ।

किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिममा बोल्दै समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले समाजमा महिलालाई कमजोर देखाउँदै आएको सन्दर्भ जोड्दै महिला हिंसा न्यूनीकरणमा तालिम फलदायी हुने बताउनु भयो । किशोरीहरु आफै सुरक्षित भएर हिँड्नुपर्ने बाध्यताका बीचमा यस्ता खाले तालिम जीवन उपयोगी हुने उहाँको भनाई थियो ।

सामाजिक विकास कार्यालय लमजुङका प्रमुख दिनेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लखा अधिकृत बलराम अछामीले गर्नुभएको थियो ।